०२ असार २०८३, मंगलबार

यसरी ध्यान दिनुस् बालबालिकाको खानपानमा

असार २२, २०७८
यसरी ध्यान दिनुस् बालबालिकाको खानपानमा

मनसुन सुरु भएसँगै बालबालिकामा विभिन्न किसिमका रोगको जोखिम बढ्ने हुनाले खानपानमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् ।

मनसुनको समयमा बालबालिकालाई झाडापखाला, जन्डिस, मलेरिया, डेङ्गुजस्ता समस्याले सताउन सक्ने बालरोग विशेषज्ञ डा. प्रज्ञा प्रधानले जानकारी दिइन् ।

उनले विशेषगरी खाना र फोहोर पानीका कारण धेरै स्वास्थ्य समस्या आउने जानकारी दिँदै कोरोनाको तेस्रो लहरको चिन्ता पनि बढ्न थालेकाले सचेत हुनुपर्ने बताइन् ।

“कोरोनाको सम्भावित तेस्रो र चौथो लहरमा बालबालिका बढी जोखिममा पर्नसक्ने अनुमान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै सङ्क्रमणको तेस्रो लहर आउन सक्ने र बालबालिका बढी सङ्क्रमित हुने अनुमानसहित स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ”, डा. प्रधानले भनिन्।

मौसम परिवर्तन हुँदा बालबालिकामा प्रतिरोधात्मक क्षमता घट्ने भएकाले यस्तो अवस्थामा स्वच्छ, सफा र पौष्टिक खानाको व्यवस्था गर्नुपर्ने सुझाव उनको छ । रोगप्रतिरोधी प्रणाली विभिन्न अङ्ग, कोष, तन्तु र प्रोटिनबाट बनेको जटिल सञ्जाल हो । सामान्य भाषामा भन्ने हो भने प्रतिरोधी प्रणालीले शरीरलाई विभिन्न ब्याक्टेरिया, भाइरस र अन्य सङ्क्रमणबाट बचाउने काम गर्छ ।

डा. प्रधानले भनिन्, “बालबालिकालाई ताजा सागसब्जी, तरकारी, दालभात, पोषणको हिसाबले उपयुक्त र पर्याप्त हुन्छ ।” दैनिक आहारमा हामीले ‘हरेक बार, खाना चार’ भन्ने मन्त्र अपनाउनुपर्ने सुझाव उनको छ । यसको अर्थ,हामीले खाने खानाको थालमा कम्तीमा चारवटा खाद्य समूहबाट खानेकुरा समावेश गर्न सकियो भने अत्यन्त राम्रो हुन्छ ।

जनस्वास्थ्य तथा पोषणविद् डा. अरुणा उप्रेतीले बालबालिकाका साथै हामीले खानेकुरामा उचित ध्यान नदिँदा समस्या आउने बताइन् । उनका अनुसार यो समयमा पानीसँगै विभिन्न प्रकारका कीटाणु आउँछन् । यसले जन्डिस, डेङ्गुजस्ता रोग फैलाउने गर्छन् । हिलो र फोहोरका कारण घाउ खटिरा हुने सम्भावना पनि अत्यन्त धेरै हुन्छ ।

डा. उप्रेतीले भनिन्, “वर्षायाममा फोहोर पानीका कारण पनि धेरै बिरामी पर्ने गर्छन् । हामीले सधैँ उमालेको पानी पिउनुपर्छ । उमालेको वा फिल्टर गरेको पानीमा हाम्रो शरीरलाई असर गर्ने कीटाणु हुँदैनन् ।” मनसुनमा हाम्रो शरीरको पाचन प्रक्रिया कमजोर हुने कारणले यस मौसममा तारेको खानेकुरा खानु हुँदैन । हाम्रो शरीरमा यस्ता खानेकुराले अपच हुने तथा पेटसम्बन्धी समस्या हुने गर्छ ।

हामीले खिचडी, झोलिलो कुराजस्ता खानेकुरा बढी मात्रामा खान सकिने पनि उनले बताइन् । पानी नपरेका बेला पनि हावाले एक ठाउँबाट अर्को ठाउँमा कीटाणु लैजान्छ । रोगको सङ्क्रमणले बिरामी, वृद्ध र बालबालिकालाई चाँडै च्याप्छ । त्यसैले यो मौसममा बच्चाको धेरै ख्याल राख्नुपर्छ ।

तातोपानी, तातो सुप खुवाउँदा बच्चालाई चिसोबाट बचाउन सकिन्छ । पानीमा भिजेपछि शरीरभित्र र बाहिरको तापक्रम नमिल्दा बच्चा बिरामी हुन्छ । बच्चालाई राति सुत्ने बेलामा तातो तेलले शरीर मालिस गरिदिनुपर्ने पनि डा. उप्रेतीले प्रस्ट पारिन् । पानी पर्ने मौसममा रोगप्रतिरोध क्षमता बढाउँदै आफ्नो शरीरलाई सन्तुलनमा राख्न सुप पिउन उनले सुझाव दिनुभयो । गोरखापत्र दैनिकमा यलु जोशीले खबर लेखेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्