
पार्टीभित्रको आन्तरिक विवाद समाधान गरी सहमति खोज्न गठित कार्यदलको बैठकमा आज सहमतिको मस्यौदामाथि औपचारिक छलफल शुरू हुने भएको छ ।
संस्थापन पक्षबाट सुवास नेम्वाङ र माधव नेपाल समूहबाट उपाध्यक्ष भीम रावल संयोजकत्वको कार्यदलको बैठक दिउँसो १ बजेका लागि तय भएको छ ।
झण्डै ५० दिनपछि ब्युँतिएको कार्यदलले सोमवार अनौपचारिक छलफलमा भएका कुराकानीको समीक्षा सहित आज औपचारिक प्रस्तावमा छलफल गर्ने निर्णय गरेको थियो ।
एमाले स्थायी कमिटी सदस्य एवं कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले सहमतिका लागि अधिकतम प्रयास हुने बताए ।
‘लामो समय हामीले अनौपचारिक छलफल गर्यौं, आज औपचारिक छलफल हुन्छ । छलफल सकारात्मक ढंगले अगाडि बढेकाले हामी निकै आशावादी छौं,’ पाण्डेले मंगलवार लोकान्तरसँग भने ।
कार्यदलका अर्का एक सदस्यले पटक पटकका अनौपचारिक छलफलका क्रममा धेरै विषयमा सहमति नजिक पुगिएको र आज एउटा निष्कर्षमा पुगिने लोकान्तरलाई बताए ।
कार्यदलले पार्टीमा लामो समयको तिक्तता मेट्ने गरी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त हस्ताक्षर सहितको अपिल प्रकाशित गरेर पार्टी एकताको सन्देश दिन सिफारिश गर्ने सम्भावना छ ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्तालाई पूर्वशर्त बनाएको संस्थापन पक्ष कार्यदलमार्फत सहमति खोज्न राजी भएपछि सोमवार कार्यदलको बैठक बसेको थियो । आइतवार ओलीले कार्यदलका सदस्य समेत रहेका उपाध्यक्ष रावलसँग बालुवाटारमा लामो वार्ता गरेका थिए ।
पार्टी विवाद हल गर्न गत जेठ २ गते गठन भएको कार्यदलमा संस्थापन पक्षका तर्फबाट नेम्वाङसहित उपमहासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् ।
नेपाल पक्षबाट रावलसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य छन् ।