
भारतको लोक जनशक्ति पार्टीका नेता चिराग पासवानले मंगलवार प्रधानमन्त्री नरेन्द्र मोदीलाई अदालतमा मुद्दा हाल्ने धम्की दिएका छन् ।
पटनामा पत्रकार सम्मेलन गरेर उनले एलजेपीबाट निष्कासित सांसद पशुपति पारसलाई केन्द्र सरकारको मन्त्रिमण्डलमा समावेश गरिएमा अदालतमा मुद्दा हाल्ने धम्की उनले दिएका हुन् ।
उनले भने, ‘पार्टीको राष्ट्रिय अध्यक्ष म हुँ, पार्टी पनि मेरो हो । मेरो अनुमति विना पार्टीको कोटाको कुनै पनि सांसदलाई मन्त्री बनाउन मिल्दैन । प्रधानमन्त्री मोदीले यसो नगर्ने आशा मैले लिएको छु । काका पारसलाई मन्त्री बनाउने हो भने जेडीयूमा राखेर बनाए हुन्छ तर एलजेपीबाट बनाउन पाइँदैन । मैले भनेको जस्तो भएन भने राजनीतिक र कानूनी लडाइँ लड्छु । अदालतमा मुद्दा हाल्न म हिचकिचाउदिनँ ।’
एलजेपीका दिग्गज नेता रामविलास पासवानको मृत्युपछि छोरा चिराग र रामविलासका भाइ पशुपतिबीच पार्टी नियन्त्रणको विषयमा विवाद रहिआएको छ ।