चितवन, २५ जेठ - भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्ने-नगर्नेबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहे पनि एमाले र कांग्रेस–माओवादी गठबन्धनले चुनावी अभियान थालेका छन्, नयाँ पत्रिकाले खबर छापेको छ ।

एमाले वडा कमिटीले मंगलबारदेखि नै घरदैलो अभियान सुरु गरेको छ । तीन समूह बनाएर घरदैलो अभियान सुरु गरेको एमालेले जीवनज्योति बुथका लागि जिल्ला कमिटी सचिवालय सदस्य विष्णुहरि तिवारी, शारदा उमावि बुथका लागि जिल्ला कमिटी सचिवालय सदस्य प्रकाश ढुंगाना र किरणगन्ज मावि बुथका लागि जिल्ला कमिटी सदस्य रामजी सापकोटाको नेतृत्वमा टोली परिचालन गरेको भरतपुर–१९ का इन्चार्ज बिपुला दवाडीले बताइन् ।
कांग्रेस–माओवादी गठबन्धनबाट महानगरको मेयरकी उम्मेदवार रेणु दाहालले पनि वडा नम्बर १९ मा पुनः घरैदैलो अभियान सुरु गरेकी छन् । निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेपछि गठबन्धनले संयुक्त पार्टी कार्यालय स्थापना गरी चुनावी अभियान थालेका हुन् ।