
चालू आर्थिक वर्ष २०७७/७८ मा सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न कठिन हुने देखिएको छ ।
आर्थिक वर्ष समाप्त हुनु करीब एक साता अगाडिको राजस्व संकलनको तथ्यांकले लक्ष्य चुम्न कठिन हुने देखाएको हो ।
चालू आर्थिक वर्षको शुरूको केही महिना विभिन्न किसिमका बन्दाबन्दी र निषेधाज्ञाले अर्थतन्त्र सुस्त बनेको थियो ।
त्यसपछि चालू आवको अन्तिम समयमा पनि (वैशाख १६ देखि असारसम्म) नै निषेधाज्ञा जारी भयो ।
यसरी शुरू र अन्तिममा पनि निषेधाज्ञा जारी हुँदा राजस्व संकलनको अनुमानित लक्ष्य भेट्न केही कठिन देखिएको सरकारी निकायहरूले बताएका छन् ।
चालू आर्थिक वर्ष २०७७/७८ मा कर संकलनमा ठूला करदाता कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्नेमा शंका छ ।
कार्यालयले चालू आर्थिक वर्षको असार २४ गतेसम्ममा १ खर्ब ४० अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।
चालू आर्थिक वर्षमा २ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको कार्यालयलाई अबको एक सातामा लक्ष्य चुम्न अझै ६६ अर्ब रुपैयाँ राजस्व संकलन गर्नुपर्ने दबाब छ ।
यद्यपि विभागले भने अबको एक सातामा करीब ४० अर्ब रुपैयाँ संकलन हुने अनुमान गरेको छ ।
विभागका एक कर्मचारीले लोकान्तरसँग भने, ‘अबको एक सातामा धेरै कर संकलन हुन्छ । जसअनुसार करीब ४० अर्ब रुपैयाँ संकलन हुन्छ भन्ने अनुमान छ ।’
ठूला करदाता कार्यालयले चालू आर्थिक वर्षको असार २४ गतेसम्ममा ७७ अर्ब २५ करोड आयकर संकलन गरेको छ ।
यस्तै सोही समयसम्ममा ४६ अर्ब ९ करोड रुपैयाँ भ्याट संकलन गरेको विभागले जनाएको छ ।
विभागले मूल्य अभिवृद्धि कर संकलनमा भने विभागले गत वर्षभन्दा बढी नै संकलन गरेको छ ।
विभागका अनुसार असार २४ सम्ममा मूल्य अभिवृद्धि कर ४६ अर्ब रुपैयाँ संकलन भएको छ । गत आर्थिक वर्षमा विभागले यस्तो कर ४० अर्ब ७८ करोड रुपैयाँ संकलन भएको थियो । वि
भागका अनुसार असार २४ गतेसम्ममा ५ सय ५३ ठूला करदाताले कर तिरेका छन् ।
कुल ६ सय ७२ करदातामध्ये अब बाँकी १ सय १९ ठूला करदाताले महिनाको अन्तिम दिनसम्ममा कर तिर्ने विश्वास लिएको विभागले जनाएको छ ।
ठूला करदाता कार्यालयका प्रमुख बाबुराम गौतमले लोकान्तरसँग भने, ‘यो महिना भरी किस्ता तिर्न सकिन्छ । त्यसकारण यो संख्या अझै बढ्छ भन्ने लागेको छ ।’
उनले अबको एक सातामा बैंक तथा वित्तीय संस्था तथा सरकारी निकायले पनि कर दाखिला गर्नुपर्ने भएकाले करीब ४० अर्ब आसपासमा कर संकलन हुने अनुमान गरे ।
उनले भने, ‘हामी अहिले कर संकलनमा व्यस्त नै छौं । उहाँहरूले अन्तिमसम्ममा पनि दिनुहुन्छ । त्यसकारण अहिलेको भन्दा केही बढ्छ ।’
उनले कोरोना महामारी र दोस्रो चरणको बन्दाबन्दीको असर राजस्व संकलनमा देखिएको बताए ।
आन्तरिक राजस्व विभागलाई पनि लक्ष्य चुम्न मुस्किल
आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्ष २०७७/७८ को असार (२३ गते) सम्म लक्ष्यको ८४.४ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ ।
यसरी हेर्दा अबको एक सातामा राजस्व संकलनको लक्ष्य भेट्नका लागि १५.६ प्रतिशत राजस्व संकलन गर्नुपर्ने दबाब रहेको छ ।
चालू आर्थिक वर्षमा कुल ४ खर्ब ५० अर्ब ३४ करोड ८३ लाख रुपैयाँ कर संकलन गर्ने लक्ष्य लिएको विभागले असार २३ गतेसम्ममा ३ खर्ब ८० अर्ब १० करोड ३१ लाख रुपैयाँमात्रै राजस्व संकलन गरेको छ ।
विभागले चालू आर्थिक वर्षको असार महिनामा मात्रै पनि लक्ष्यभन्दा निकै कम राजस्व संकलन गरेको छ ।
विभागले असार १ देखि असार २३ गतेसम्मको अवधिमा आय कर संकलन १९.९३ प्रतिशत मात्रै संकलन गरेको छ ।
असार महिनामा विभागले ७१ अर्ब ८६ करोड ४५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा असार २३ गतेसम्ममा १९ अर्ब २२ करोड १३ लाख रुपैयाँ मात्रै संकलन गरेको छ ।
यस्तै अन्य कर संकलनको अवस्था पनि विभागमा कमजोर देखिएको छ ।
विभागको तथ्यांकअनुसार असार १ देखि असार २३ गतेसम्ममा लक्ष्यको २६.७५ प्रतिशत मात्र राजस्व संकलन भएको छ ।
महालेखा नियन्त्रकको तथ्यांक ?
महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार २४ सम्ममा सरकारले विभिन्न कार्यालय तथा विभागहरूबाट कुल ८६.१६ प्रतिशत राजस्व संकलन गरेको छ ।
सरकारले कुल १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
जसमध्ये असार २४ गतेसम्ममा ८ खर्ब ७१ अर्ब ७० करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ८६.१६ प्रतिशत हो ।
यस अवधिमा सरकारले कर राजस्व ८८.९७ प्रतिशत संकलन गरेको छ । कुल ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ कर राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा सरकारले असार २४ सम्ममा ८ खर्ब १२ अर्ब २८ करोड १९ लाख रुपैयाँ संकलन गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा सरकारले ६४.०५ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो ।
सरकारले ११ खर्ब १२ अर्ब ३ करोड ३२ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा सो समयमा ७ खर्ब १२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो ।
राजस्व सचिव भन्छन्– अर्थतन्त्रमा कोरोनाले असर पार्यो, सन्तोषजनक अवस्था छ
कोरोना महामारीका कारण विभिन्न समयमा जारी गरिएको निषेधाज्ञाका कारण राजस्व संकलन लक्ष्य अनुरूप हुन नसकेको सरकारले बताएको छ । यद्यपि विषम परिस्थितिमा पनि राजस्व संकलन सन्तोषजनक रहेको सरकारको भनाइ छ ।
विभिन्न समयमा जारी भएको निषेधाज्ञाको असर राजस्व संकलनका क्रममा देखा परेको राजस्व सचिव रामशरण पुडासैनी बताउँछन् ।
उनले भने, ‘आर्थिक वर्षको शुरूका केही महिना र अन्तिमका केही महिना त निषेधाज्ञामै बित्यो । अनि बीचको समयमा भएको कारोबार सन्तोषजनक हो ।’
सरकारले पछिल्लोपटक चालू आर्थिक वर्षमा ९ खर्ब ५९ अर्ब राजस्व संकलन गर्ने संशोधित लक्ष्य राखेको छ ।
संशोधित लक्ष्यअनुरूप राजस्व संकलन भएकोमा भने उनले सन्तुष्टि जनाए । लोकान्तरसँग उनले भने, ‘संशोधित लक्ष्यभन्दा माथि नै जाने देखिन्छ ।’
उनले केही ठेक्काका रकमहरू आउने प्रक्रियामै रहेको र राजस्व त्यसले पनि बढाउने उल्लेख गरे ।
उनले राजस्व संकलनमा शुरूको लक्ष्य भेट्न नसके पनि गत वर्षको भन्दा केही वृद्धि भने भएको बताए ।
उनले भने, ‘विषम परिस्थितिका बावजुद हामीले यति राजस्व संकलन गर्न सक्यौँ, परिस्थितिअनुसार यो सन्तोषजनक अवस्था हो ।’