०५ असार २०८३, शुक्रबार

नेपालमा ५० लाख ४८ हजार डोज खोप आइसक्यो, १५ लाख डोज आउँदै

असार २६, २०७८
नेपालमा ५० लाख ४८ हजार डोज खोप आइसक्यो, १५ लाख डोज आउँदै
प्रतिकात्मक तस्वीर

आगामी सोमवारभित्र कोभ्याक्स फ्यासिलिटीमार्फत ‘जोन्सन एन्ड जोन्सन’को १५ लाख मात्रा खोप नेपाल आउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार आगामी सोमवारसम्म अमेरिकाबाट सो खोप आउने निश्चित भएको हो ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘सोमवारसम्म जोन्सन एन्ड जोन्सनको १५ लाख मात्रा खोप आउन लागेको छ, त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ ।’

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार नेपालका लागि १५ लाख र भुटानका लागि ५ लाख मात्रा खोप पठाउन लागिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले केही समयअघि मात्रै परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी राष्ट्रपतिलाई पत्र लेख्दै खोपमा सहयोग गर्न आग्रह गरेकी थिइन् ।

कोरोनाविरुद्ध बनेका अन्य खोपहरू २ मात्रा लगाउनुपर्ने भए पनि जोन्सन एन्ड जोन्सनको खोप एक मात्रा मात्र लगाए पुग्ने खोप विज्ञहरूको भनाइ छ । नेपालमा हालसम्म कोभ्याक्स फ्यासिलिटीमार्फत अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको भारतको सेरम इन्स्टिच्युटले उत्पादन गर्दै आएको कोभिसिल्ड खोप ३ लाख ४८ हजार डोज प्राप्त भएको छ ।

कोभ्याक्सले कूल जनसंख्याको २० प्रतिशतलाई पुग्ने खोप उपलब्ध गराउने प्रतिबद्धता गरेको छ । तर प्रतिबद्धताअनुरूप समानुपातिक तवरबाट खोप वितरण नभएको भन्दै आलोचना हुँदै आएको छ ।

नेपालमा प्राप्त हुने जोन्सन एन्ड जोनसनको १५ लाख मात्रा कुन समूहलाई दिने निक्र्योल नभए पनि खोप कार्ययोजनामा तय गरिएको खोप प्राथमिकता समूहका आधारमा उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयको तयारी छ । स्वास्थ्य मन्त्रालयले अमेरिकी सरकारलाई यसअघि ५० लाख मात्रा जोन्सन एन्ड जोन्सन खोप खरिदका लागि पत्राचार गरेको थियो । तर सो पत्रको जवाफ अहिलेसम्म आएको छैन ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले विपन्न र गरीब मुलुकलाई ८ करोड डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।

यसैबीच, कोरोना भाइरस विरुद्धको भेरोसिल खोपको पहिलो खेप शुक्रवार ८ लाख मात्रा नेपाल भित्रिएको छ । यससँगै नेपालले हालसम्म ५० लाख ४८ हजार मात्रा प्राप्त गरिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार साउन १ र ८ गते बाँकी भेरोसिल खोप आउनेछ । नेपालले चीनसँग खरिद गरेको ४० लाख मात्रा खोपमध्ये पहिलो चरणको खोप शुक्रवार नेपाल आइपुगेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार हालसम्म २६ लाख ११ हजार ८०७ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । दोस्रो मात्रा लगाउनेको संख्या ९ लाख ६४ हजार ५०० रहेको छ ।

शुक्रवार देशभर २ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ३१३ जनाको पीसीआर र एन्टिजेन परीक्षण गरिएको थियो ।

६ हजार ६५७ जना पीसीसार परीक्षण गर्दा १ हजार २३९ र ४ हजार ६५६ जनाको एन्टिजेन परीक्षण गर्दा ७६० जनामा संक्रमण देखिएको हो । देशभर शुक्रबार १ हजार ३१६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

हालसम्म ६ लाख ६१ हजार ९२९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ । संक्रमितको संख्या घटे पनि कोरोना जोखिम कायम नै रहेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्