नुवाकोट जिल्लामा कोभिड–१९ को बढी संक्रामक मानिएको ‘डेल्टा प्लस भेरियन्ट’ फेला परेको छ ।
त्रिशूली जिल्ला अस्पतालले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै पीसीआर प्रयोगशालाबाट पोजेटिभ देखिएका ४ स्वाबको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत अन्तरराष्ट्रिय प्रयोगशालामा परीक्षण गर्न पठाएकोमध्ये एक नमूनामा डेल्टा प्लस भेरियन्ट भेटिएको जनाएको छ ।
अस्पतालमा मेडिकल प्रमुख डा. दीपेन्द्र पाण्डेले डेल्टा प्लस भेरियन्ट पहिलेका भेरियन्टभन्दा ६० देखि १०० प्रतिशत बढी संक्रामक रहेको जानकारी दिँदै सजग रहन आग्रह गरे ।
यसैबीच जिल्ला प्रशासन कार्यालयले १ हप्ताका लागि निषेधाज्ञा थप गरेको छ । प्र्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले निषेधाज्ञा आगामी साउन १ गते राति १२ बजेसम्म रहने जानकारी दिए ।
जिल्लामा ५०२ कोरोनाका सक्रिय संक्रमित छन् । हालसम्म कोरोनाबाट ३७ जनाको ज्यान गइसकेको छ ।