०७ असार २०८३, आइतबार

पारिवारिक विवादमा भाइले गरे दाजुको हत्या

पारिवारिक विवादमा भाइले गरे दाजुको हत्या

मोरङमा आफ्नै भाइले दाजुको हत्या गरेका छन् । विराटनगर महानगरपालिका–५, पृथ्वी चोकका ३१ वर्षीय काले भनिने साजन सिंहले पारिवारिक विवाद हुँदा ४२ वर्षीय भोला सिंहको हत्या गरेको प्रहरीले जनाएको छ ।

भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङका हवल्दार हुन् । लागुऔषधको दुर्व्यसनमा फसिसकेका साजनले मादक पदार्थ सेवन (मापसे) गरेर दाजुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ एसपी जनार्दन जिसीको भनाइ छ । 

साजनले गएराति दाजुमाथि धारिलो हतियार प्रहार गरेका थिए । घाइते भएका भोलालाई प्रहरीले उद्धार गरी उपचारका लागि विराटनगरको विराट नर्सिङ होम पुर्‍याएको थियो । 

अस्पताल पुर्‍याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए । 

हतियार प्रहारबाट भोलाको घाँटीको दायाँ भाग, टाउको र देब्रे हातको पातोमा गहिरो चोट लागेको घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूले जनाएका छन् । हत्यामा प्रयोग गरिएको हतियार भने फेला नपरेको प्रहरीले जनाएको छ । 

साजनलाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ गरेका बेला उनी मदिराको नशामा लठ्ठ थिए । दाजुसँगको झगडामा सामान्य घाइते भएका उनलाई पनि उपचारका लागि नर्सिङ होममै भर्ना गरिएको थियो । 

उनी आफैं घाइते अवस्थामा रहेकाले घटनाका बारेमा धेरै कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

विगतमा विभिन्न अपराधिक घटनामा संलग्न साजनलाई प्रहरीले पटक-पटक पक्राउ गरेर कारबाही समेत गरेको थियो । भोलाका दुई छोरा र श्रीमती छन् । 

दाजुको हत्यामा संलग्न साजनविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाई थप अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्