
कार्यदलमा भएको भनिएको सहमतिमा हस्ताक्षर गर्न नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारमा शुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आइतवार बिहान सवा ९ बजे कार्यदलको बैठक शुरु भएको हो ।
बैठकमा सहमतिमा हस्ताक्षर गरिने कार्यदलका एकजना संयोजक सुवास नेम्वाङले लोकान्तरलाई जानकारी दिए । कार्यदलको बैठक अघि माधव नेपाल पक्षका सदस्यहरुले नेता नेपालसँग परामर्श गरेका थिए ।
‘कार्यदलमा सहमति भएको विषयमा अहिले बस्ने बैठकमा हस्ताक्षर गर्दैछौं, आजै स्थायी कमिटी बैठक राख्न पनि सुझाव दिएका छौं’ नेम्वाङले भने ।
६ दिन लामो अनवरत छलफल पछि कार्यदल पार्टीमा देखिएको विवाद समाधान गर्न सफल भएको सदस्यहरुले बताएका छन् । कार्यदलका सदस्य गोकर्ण विष्टले आइतवार बिहान पार्टी कार्यकर्तालाई सकारात्मक सन्देश दिने बताएका थिए ।
कार्यदलमा भएको सहमतिलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाललाई बुझाइने एक सदस्यले जानकारी दिए ।
पार्टी विवाद मिलाउन संस्थापन पक्षबाट नेम्वाङ र माधव नेपाल पक्षबाट भीम रावलको संयोजकत्वमा पाँच/पाँचजना सदस्य रहनेगरी कार्यदल गठन गरिएको थियो ।