
कार्यदलमा भएको भनिएको सहमतिमा हस्ताक्षर गर्न नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आइतवार बिहान सवा ९ बजे कार्यदलको बैठक बसिरहेको हो ।
कार्यदलमा भएको सहमतिलाई भाषिकरूपमा मिलाएर हस्ताक्षर गरिने कार्य दलका एक संयोजक सुवास नेम्वाङले लोकान्तरलाई जानकारी दिए । कार्यदलको बैठकअघि माधव नेपाल पक्षका सदस्यहरूले नेता नेपालसँग परामर्श गरेका थिए ।
‘कार्यदलमा सहमति भएको विषयमा अहिले बस्ने बैठकमा हस्ताक्षर गर्दैछौं । आजै स्थायी कमिटी बैठक राख्न पनि सुझाव दिएका छौं,’ नेम्वाङले भने ।
६ दिन लामो छलफलपछि कार्यदल पार्टीमा देखिएको विवाद समाधान गर्न सफल भएको सदस्यहरूले बताएका छन् ।
कार्यदलका सदस्य गोकर्ण विष्टले आइतवार बिहान पार्टी कार्यकर्तालाई सकारात्मक सन्देश दिने बताएका थिए ।
कार्यदलमा भएको सहमतिलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाललाई बुझाइने एक सदस्यले जानकारी दिए ।
पार्टी विवाद मिलाउन संस्थापन पक्षबाट नेम्वाङ र माधव नेपाल पक्षबाट भीम रावलको संयोजकत्वमा जेठ २ गते पाँच–पाँचजना सदस्य रहनेगरी कार्यदल गठन गरिएको थियो ।
कार्यदलमा सहमति भएसँगै ५ महिना लामो एमाले विवाद टुंगिने अपेक्षा गरिएको छ ।