२३ जेठ २०८३, शनिबार
गण्डकी सरकार

दीपक मनाङ्गेले पाएनन् रोजेको मन्त्रालय, फेरि युवा तथा खेलकुद मन्त्रीका रूपमा पदभार ग्रहण

असार २७, २०७८
दीपक मनाङ्गेले पाएनन् रोजेको मन्त्रालय, फेरि युवा तथा खेलकुद मन्त्रीका रूपमा पदभार ग्रहण
फाइल फोटो

नियुक्तिको झण्डै एक महिनापछि गण्डकी प्रदेशका दुई विना विभागीय मन्त्रीले विभागीय मन्त्रीको रूपमा जिम्मेवारी पाएका छन् ।

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको रूपमा जनता समाजवादी पार्टी (जसपा) का हरिशरण आचार्य र युवा तथा खेलकुद मन्त्रीका रूपमा राजीव गुरुङ (दीपक मनाङ्गे)ले आइतबार कार्यालय समयमा पदभार ग्रहण गरेका हुन् ।

यसअघि आचार्यले आर्थिक मामिला र मनाङ्गेले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गर्दै आएका थिए ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगको छलफलपछि उनीहरू अर्कै मन्त्रालय लिन सहमत भएका हुन् । 

गत ४ असारमा कांग्रेस नेतृत्व सरकारले जसपालाई अर्थसहित २ मन्त्रालय दिने सहमति गरे पनि सहमति तोडेपछि किचलो शुरू भएको थियो ।

यसअघि कांग्रेसका कुमार खड्काले सामाजिक विकास र माओवादी केन्द्रकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा लिइसकेका छन् ।

गत २९ जेठमा कांग्रेसका पोखरेलको नेतृत्वमा गण्डकी सरकार बनेको थियो । बाँकी मन्त्रालयको भागबण्डा भने बजेट पास भएपछि मात्रै हुने भएको छ ।

गण्डकीमा कांग्रेस, माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा तथा स्वतन्त्र सांसद मिलेर सरकार बनाएका हुन् ।

जसमा कां‌ग्रेस र माओवादीलाई ४–४, जसपालाई २ र स्वतन्त्रलाई १ मन्त्रालय दिने सहमति भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्