
नेपाली कांग्रेसका एक सांसदले कोरोनाविरुद्धको खोपको नाममा राष्ट्रपतिको सक्रियता टेस्ट गर्न खोजिएको आशंका व्यक्त गरेका छन् ।
आइतवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले खोप प्रकरणमा सरकारको कूटनीतिक मर्यादा र सम्बन्ध सकिएजस्तो देखिएको बताएका हुन् ।
‘खोप प्रकरणमा राष्ट्रपतिलाई किन विवादमा पारियो ? सरकारको कूटनीतिक मर्यादा र सम्बन्ध सकिएजस्तो लाग्यो मलाई । परराष्ट्र मन्त्रालय किन पछि पर्यो ? मन्त्रालय किन सुतिरहेको छ ? प्रधानमन्त्रीज्यूको के तमासा हो यो ? खोप प्रकरणमा राष्ट्रपतिको सक्रियता टेस्ट गरिएको त कतै होइन ?’ उनले प्रश्न गरे ।
चुनावको लागि अर्बौं खर्च गर्छौं भन्ने सरकारले खोप ल्याउन नसकेको भन्दै उनले आलोचना गरे ।
उनले अपांगता भएका व्यक्तिहरूलाई खोप व्यवस्था नगरे मन्त्रालयमा गएर धर्ना दिने चेतावनी दिए ।
कोरोनाविरुद्ध पहिलो चरणको खोप लगाएका १३ लाख वृद्धवृद्धालाई सरकारले दोस्रो डोजको व्यवस्था नगरेर उनीहरूको स्वास्थ्यमाथि खेलबाड गरेको आरोप समेत उनले लगाए ।