
राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले सरकारले अध्यादेशमार्फत तानाशाही शासन चलाएको बताएकी छन् । राष्ट्रिय सभाको आइतवारको बैठकमा बोल्दै देवकोटाले सरकारले संसद् छलेर अध्यादेशमार्फत तानाशाही शासन चलाएको बताएकी हुन् ।
उनले सरकारले नागरिकको हितविपरीत केवल आफ्नो अभिष्ट पूरा गर्नका लागि राज्य सञ्चालन गरिरहेको बताइन् ।
‘आफैँ कानून बनाउने, आफैँ कार्यान्वयन गर्ने र आफैँ कानूनको व्याख्या गर्ने यो प्रजातन्त्रभित्रको निरंकुशता हो । अनुत्तरदायी हो,’ उनले भनिन्।
उनले सरकारले घोषणा गरेअनुसार कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध नगराएको पनि आरोप लगाइन् ।
‘शिक्षा क्षेत्र त्यस्तै तहसनहस छ । नो भ्याक्सिन, नो स्कुल भनेर शिक्षकहरू आन्दोलित छन् । तर सरकार बेखबर छ,’ उनले भनिन् ।
उनले महिला हिंसाको घटनामा वृद्धि भइरहेको भन्दै यस्ता संवेदनशील विषयहरूमा सरकारले फास्ट ट्रयाकका माध्यमबाट अनुसन्धान गरी अपराधीहरूलाई कानुनी दायरामा ल्याउन सरकारले ढिला गरेको पनि आरोप लगाएकी छन् ।