२१ असार २०८३, आइतबार
सरकार गठनको गृहकार्य

उपेन्द्रकै नेतृत्वमा जसपा देउवा सरकारमा जाने, परराष्ट्र मन्त्री बन्ने सम्भावना

उपेन्द्रकै नेतृत्वमा जसपा देउवा सरकारमा जाने, परराष्ट्र मन्त्री बन्ने सम्भावना

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने तयारी गरेका छन् । 

उपप्रधान तथा परराष्ट्र मन्त्रालयको नेतृत्व लिएर यादव सरकारमा सहभागी हुन लागेको स्रोतले बतायो ।

सरकारमा सहभागिताको विषयलाई लिएर संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेता अशोक राईबीच मंगलवार छलफल भएको स्रोतको दाबी छ ।

औपचारिक निर्णय भने १ बजे पार्टीको बैठक बसेर लिने तयारी छ ।

यसअघि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा यादव स्वास्थ्यमन्त्री थिए ।

पछि उनलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मा दिइएको थियो । केही समय कानून मन्त्रीको जिम्मेवारी सम्हालेर यादव सरकारबाट बाहिरिएका थिए ।

विगतमा पनि उपेन्द्र यादव परराष्ट्र मन्त्री बनिसकेका छन् । जसपाबाट उपेन्द्रका अलावा मोहम्मद इस्तियाक राई लगायतका अन्य केही नेता पनि मन्त्री बन्ने सम्भावना छ ।

कांग्रेस, माओवादी केन्द्र र जसपाका केही मन्त्रीलाई समेटेर मंगलवार सानो आकारको मन्त्रिपरिषद् बनाउने देउवाको तयारी छ ।

विपक्षी गठबन्धनको बैठकपछि सोमवार कांग्रेस नेता बालकृष्ण खाणले मंगलवार सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी भएको बताएका थिए । 

कांग्रेसबाट खाणको समेत मन्त्री बन्न चर्चा छ । 

यता माओवादी केन्द्रबाट जनार्दन शर्मा, पम्फा भुसाल, देवेन्द्र पौडेल, मातृका यादवमध्ये दुई जनासम्मले आजै शपथ लिने सम्भावना छ ।

सर्वोच्च अदालतको परमादेश अनुसार देउवाले मंगलवार राष्ट्रपति भवन शितल निवासमा शपथ लिने तयारी गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्