३१ जेठ २०८३, आइतबार

चितवनमा २४३ जनामा डेंगु

असार २९, २०७८
चितवनमा २४३ जनामा डेंगु
प्रतिकात्मक तस्वीर

चितवन जिल्लामा चालू आर्थिक वर्षमा २४३ जनामा डेंगुका लक्षण देखिएका छन् ।

स्वास्थ्य कार्यालयले मंगलवार आयोजना गरेको सरोकार पक्षका बैठकमा अगामी साउन महिना शुरू भएसँगै संक्रमण बढ्न सक्ने जनाउँदै उच्च सावधानी अपनाउन आग्रह गरिएको थियो । 
 
सो अवसरमा कार्यालयका प्रमुख दीपक तिवारीले यस वर्ष १ हजार ७१७ जनाको डेंगु परीक्षण गरिएको जानकारी दिए । गत आवमा १९ हजार २३० जनाको परीक्षण गर्दा ४ हजार ८०३ जनामा संक्रमण पुष्टि भएको थियो ।

तीमध्ये ३ जनाको मृत्यु भएको थियो । आव २०७५/७६ मा १ हजार ९५१ जनाको परीक्षण गर्दा ३१ र आव २०७४/७५ मा १ हजार २९१ जनाको परीक्षणमा १ जनाको मृत्यु हुनाका साथै ५८ जनामा  संक्रमण देखिएको थियो ।  
 
नेपालमा सन् २००४ मा पहिलोपटक विदेशी नागरिकमा डेंगु फेला परेको थियो । सन् २००६ मा तराई र भित्री मधेशमा देखिएको डेंगु सन् २००९ मा चितवनमा पहिलोपटक ९ जनामा देखिएको थियो । १ वर्षको अन्तरालमा संक्रमण बढी देखिने गरेको जनाउँदै समयमा नै सावधानी अपनाउनुपर्नेमा जोड दिइएको थियो ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले स्थानीय तहहरूले जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी थाल्नुपर्ने बताए । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले अब प्रत्यक्ष रूपमा नियन्त्रण गर्न काममा नै जुट्नुपर्ने समय आएको बताए ।
 
गाउँ र टोलटोलमा जनचेतना जगाउनुपर्ने उनको भनाइ थियो । डेंगु एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो । घर वरिपरि बस्ने एडिस लामखुट्टेले प्रायः बिहान र साँझ टोक्ने गरेको पाइन्छ । यो खासगरी वर्षातको पानी, प्लाष्टिक र टिनका डब्बा, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्यांकी आदिमा सयौंको संख्यामा फुल पार्दछ । 
 
स्वास्थ्य कार्यालयका किट नियन्त्रक निरीक्षक राम केसीका अनुसार डेंगुको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउनु हो ।  ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कटकटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिरामी आउने, रक्तस्राव हुने जस्ता लक्षण देखापर्ने उनले जानकारी दिए । डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्दछ । यो भाइरसका कारण हुने भएकाले खास उपचार नहुने र लक्षणअनुसार उपचार गरिने निरीक्षक केसीले बताए  ।

salt training

कमेन्ट गर्नुहोस्