२५ जेठ २०८३, सोमबार

पुन:स्थापनापछि सांसदहरूको खातामा एकैपटक दुई महिनाको तलब जाने, हिसाब निकाल्दै संसद् सचिवालय

असार २९, २०७८
पुन:स्थापनापछि सांसदहरूको खातामा एकैपटक दुई महिनाको तलब जाने, हिसाब निकाल्दै संसद् सचिवालय

प्रतिनिधि सभा पुन:स्थापना भएपछि प्रतिनिधि सभा सदस्यहरूको पारिश्रमिक पठाउनका लागि संसद् सचिवालयले हिसाब गर्न शुरू गरेको छ ।

एकमुष्ठ रूपमा हिसाब गरेर दुई महिनाको तलब सांसदहरूको खातामा पठाउने तयारी संसद् सचिवालयले गरेको छ।

संसद् सचिवालयका लेखा नियन्त्रक वसन्तराज सिग्देलका अनुसार मंगलवार साँझसम्म सबै हिसाब निकालिनेछ।

'अहिले हामी हिसाब–किताब गर्दैछौं । यस अवधिमा कतिपय सांसदहरू विभिन्न मितिमा मन्त्री समेत बन्नुभयो, त्यसकारण हिसाब निकाल्न अलि समय लागिरहेको छ,' सिग्देलले लोकान्तरसँग भने, 'त्यसबाहेक नेकपा माओवादी केन्द्रले केही सांसदलाई हटाएको र पछि फेरि थपेको हुनाले सबै हिसाब गर्न केही समस्या भएको छ ।'

आज साँझसम्म सबै हिसाब निकालेर उहाँहरूको खातामा पारिश्रमिकसहित सेवा सुविधाबापतका रकम पठाइने उनले बताए ।

एक जना सांसदलाई ६४ हजार ७० रुपैयाँ मासिक पारिश्रमिक दिने गरिएको छ। त्यसबाहेक संसद्का पदाधिकारीहरूको फरक पारिश्रमिकसहित फरक सेवा सुविधाबापतको रकम संसद् सचिवालयले दिने गरेको छ।

काठमाडौं उपत्यकामा घर भएका सांसदहरूलाई आवासबापत मासिक ९ हजार रुपैयाँ र काठमाडौं उपत्यकामा घर नभएका सांसदहरूलाई घर भाडाबापत मासिक १८ हजार रुपैयाँ दिने गरिएको छ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ अनुसार सांसद र पदाधिकारीहरूलाई पारिश्रमिक तथा सुविधा दिने गरिएको छ ।

पदाधिकारी अन्तर्गत सभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलको नेता, सत्ता पक्षको नेता, सत्ता पक्षको मुख्य सचेतक, उपसभामुख, उपाध्यक्ष, विपक्षी दलको सचेतक, सत्ता पक्षको प्रमुख सचेतक, दलको प्रमुख सचेतक, विभिन्न संसदीय समितिका सभापति छन्।

त्यसैगरी सांसद तथा पदाधिकारीले निजी सचिवालयका लागि समेत ऐनको अनुसूची-२ बमोजिम कर्मचारी सुविधा पाउने गरेका छन् ।

हाल प्रतिनिधि सभामा २ सय ७१ सांसद छन् ।

salt training

कमेन्ट गर्नुहोस्