
आवाससहित एमबीबीएस अध्ययन छात्रवृत्ति प्रदान गर्ने नीति लिएको ताप्लेजुङको सिरीजंघा गाउँपालिकाले छात्रवृत्तिसम्बन्धी विधेयक पारित गरेको छ ।
गाउँपालिकाको नवौं गाउँसभामा प्रस्तुत छात्रवृत्ति दिने लगायतका ४३ बुँदे नीति तथा कार्यक्रमलाई सोमवार बैठक बसी स्वीकृत गरेको हो ।
स्वीकृत छात्रवृत्ति सम्बन्धमा बनेको विधेयकले प्रत्येक वर्ष चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबीबीएस अध्ययन प्रवेश परीक्षा उत्तीर्ण गर्ने गाउँपालिका क्षेत्रभित्रको १ जना विद्यार्थीलाई आवाससहित छात्रवृत्ति दिने व्यवस्था गरेको छ ।
गाउँपालिकाभित्रका विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गर्न नसके जिल्लाका कुनै पनि क्षेत्रका विद्यार्थीले छात्रवृत्ति पाउनेछन् ।
गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीलाई ११ र १२ कक्षाको अध्ययन निःशुल्क गर्ने व्यवस्थालाई समेत निरन्तरता दिने निर्णय भएको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिए । १ देखि ५ कक्षासम्मका विद्यार्थीलाई निःशुल्क पोशाक र स्कूल ब्याग गाउँपालिको प्रदान गर्ने भएको छ ।
गाउँपालिका क्षेत्रभित्रको क्याम्पसमा पढ्ने दलित, महिला, अपाङ्गता परिचयपत्र भएका विद्यार्थीलाई स्नातक वा सोभन्दा माथिको अध्ययन निःशुल्क बनाइने समेत निर्णय भएको छ । सबै वडाबाट प्रत्येक वर्षको एसईई परीक्षाको नतिजामा उत्कृष्ट नतिजा हासिल गर्ने हरेक वडाका १/१ जना गरी ८ जना विद्यार्थीलाई प्राविधिक विधामा प्रविणता प्रमाणपत्र तह वा सो सरह अध्ययनका लागि आवाससहितको छात्रवृत्ति दिने व्यवस्थालाई निरन्तरता दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए ।
११ र १२ कक्षाको अध्ययन निःशुल्क गर्ने, पोशाक र ब्याग वितरण गर्ने, प्राविधिक विषयको अध्ययनका लागि छात्रवृत्ति दिने कार्यक्रम चालू आर्थिक वर्षबाटै शुरू गरिएका थिए । कार्यक्रमलाई पुनः निरन्तरता दिने गाउँपालिकाले निर्णय गरेको हो ।