
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनादेश आफ्नो पक्षमा रहेपनि सर्वोच्चको परमादेश कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा आएको बताएका छन् ।
देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेशपछि बालुवाटार र सिंहदरबार छाड्ने तयारीमा रहेका ओलीले देशवासीका नाममा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
'जनताको जनादेश मेरो पक्षमा थियो, तर सरकारको परमादेश देउवाजीको पक्षमा आयो,' ओलीले भने ।
उनले सरकारबाट बाहिरिन परेकोमा आफूलाई कत्ति पनि चिन्ता नरहेको बताए ।
'सरकारबाट बाहिरिनुपरेकोमा कति पनि चिन्ता छैन । मैले देश र जनताका निम्ति सम्पूर्ण इमान्दारिताका साथ काम गरेको छु,' ओलीले भने, 'विकासका निम्ति नयाँ-नयाँ भिजन दिएर अगाडि बढाएको छु । मेरो नेतृत्वमा देशले चौतर्फीरूपमा विकास, परिवर्तन र रुपान्तरण भएको छ । जनताले राहत महशुस गरेका छन् । मलाई आफ्नो कामप्रति खुशी छ, म ढुक्क छु ।'