
विभिन्न आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ ।
वन्यजन्तुको अंगसहित २ र बैंकिङ कसूरमा संलग्न २ गरी ४ जनालाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि परिचालित प्रहरी टोलीले ललितपुरको गोदावरीबाट २ जनालाई कस्तुरीको बीनाजस्तो देखिने एक थान आखेटोपहारसहित पक्राउ गरेको मंगलवार विज्ञप्तिमार्फत जनाएको छ ।
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैधरुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाका आधारमा खोजतलासका क्रममा दुवै जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मकवानपुरको गढी गाउँपालिका–४ का ४८ वर्षीय लालबहादुर घलान र झापाको गौरीगञ्जका उदयकुमार कोइराला रहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कसूर प्रमाणित भए ५ लाखदेखि १० लाखसम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ ।
यसैगरी, उच्च अदालत पाटनको विक्रम संवत् २०७७ सालको फैसलाले १५ दिन कैद र ५५ लाख जरिवाना तोकिएको ललितपुर घर भई हाल काठमाडौंको थापागाउँ बस्ने ४९ वर्षीय गणेशमान श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तै, उच्च अदालत पाटनको विक्रम संवत् २०७६ सालको फैसलाले ७ दिन कैद र ५२ लाख जरिवाना तोकिएका काठमाडौंको शान्तिनगर बस्ने महेन्द्रप्रसाद मिश्रलाई पनि काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।