
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी चैतसम्म सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने पहिलो निर्णय गरेको छ ।
नवनियुक्त प्रधानमन्त्री देउवाले राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मंगलवार साँझ नै पदभार ग्रहण गरे ।
पदभार ग्रहणपछि बसेको वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले चैतसम्म सबै नागरिकलाई खोप उपलब्ध गराउने पहिलो निर्णय गरेको हो ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले असोज मसान्तसम्म एकतिहाइ नागरिकलाई खोप लगाउने र चैत मसान्तसम्म खोप लगाउनयोग्य सबै नेपालीलाई खोप लगाउने निर्णय भएको जानकारी दिए ।
सरकारले कोरोनाविरुद्ध अग्रमोर्चामा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाकर्मीलाई १ साताभित्र जोखिम भत्ता उपलब्ध गराउन सुरु गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद्ले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई उकास्न विशेष प्याकेज ल्याउने निर्णय गरेको छ ।
बैठकले कोरोनाविरुद्ध अहिलेसम्म भएको खर्च विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ भने सरकारको प्रवक्तामा कानून, न्याय तथा संसदीय मामिलामन्त्री कार्कीलाई तोकिएको छ । राजधानी दैनिकमा खबर छ ।