०९ असार २०८३, मंगलबार

बागलुङ जिल्लाकै पहिलो नगर अस्पतालको भवन निर्माण

असार ३०, २०७८
बागलुङ जिल्लाकै पहिलो नगर अस्पतालको भवन निर्माण
प्रतिकात्मक तस्वीर

बागलुङ जिल्लाको गलकोट नगरपालिकामा प्रस्तावित गलकोट नगर अस्पतालका लागि सुविधासम्पन्न भवन निर्माण गरिएको छ ।

गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरलाई गलकोटको नगर अस्पताल बनाउने अन्तिम तयारी छ । यो नै जिल्लाको पहिलो नगर अस्पतालको भवन हो । 

गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा विक्रम संवत् २०७३ सालमा निर्माणकार्य शुरू गरिएको सुविधासम्पन्न भवन तयार भएको गलकोट प्राथमिक स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा गलकोट नगरपालिका–५ का वडाध्यक्ष नारायणध्वज मल्लले जानकारी दिए ।

स्वास्थ्य केन्द्रलाई नगर अस्पताल बनाउन नगरपालिकाले सबै तयारी पूरा गरेको र स्वास्थ्य मन्त्रालयले स्वीकृत मात्रै गर्न बाँकी रहेको उनको भनाइ छ । ‘अहिले प्राथमिक स्वास्थ्य केन्द्रकै हिसाबले सेवा दिइरहेका छौं तर नगर अस्पताल निर्माणका लागि जग्गा र भवन लगभग हामीलाई पुग्छ, सरकारको पनि एक स्थानीय तह एक अस्पतालको नीति छ,’ मल्लले भने, ‘जिल्लाको गलकोट नपासहित ताराखोलाका स्थानीयवासीलाई समेत नगर अस्पताल निर्माणपछि सहज हुनेछ ।’

अहिले केन्द्रमा निकै पुरानो जीर्ण भवन मात्रै रहेकाले सेवा दिन समस्या भइरहेको छ । अब सुविधासम्पन्न भवन थपिएको र हस्तान्तरण हुन बाँकी भए पनि उपभोग गर्न मिल्ने सहमति भएको मल्लले जानकारी दिए ।

कोरोना संक्रमणको समयमा कोरोना अस्पतालका रूपमा समेत रहेको स्वास्थ्य केन्द्रले ६४ संक्रमितलाई भर्ना गरी उपचार गरिसकेको छ । भवन नहुँदा आँखा अस्पतालको भवनबाट उपचार सेवा प्रदान गर्नुपर्ने बाध्यता अब सुविधासम्पन्न भवन प्रयोगमा ल्याएसँगै अन्त्य हुने स्वास्थ्य केन्द्र तथा प्रस्तावित नगर अस्पतालका डा. निक्सन डंगोलले जानकारी दिए ।

‘कोरोना महामारीमा भवन अभावमा आँखा अस्पतालको भवनबाट संक्रमितलाई सेवा दिएका थियौं, अहिले अस्पतालमा कोरोना संक्रमित भर्ना हुनुभएको छैन,’ डा. डंगोलले भने, ‘अस्पताल भवन तयार भएको छ, अब सहज होला तर नगर अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति थप गर्नुपर्ने छ, जसका लागि नगरपालिकाले सबै कागजात मन्त्रालय र विभागमा पठाइसकेको छ, स्वीकृत भएर आएमा जिल्लाकै पहिलो नगर अस्पताल यही हुनेछ ।’

विक्रम संवत् २०७३ मंसिरमा २ वर्षमा सक्ने गरी अमिट विल्डर्सले निर्माण थालेको भवन ३ वर्ष ढिलो गरी सम्पन्न भएको वडाध्यक्ष मल्लले जानकारी दिए । भवन ५ करोड ४५ लाखको लागतमा निर्माण भएको हो । अहिले प्राथमिक स्वास्थ्य केन्द्र ८ शय्याको भए पनि भवन निर्माणपछि १० शय्यामा सञ्चालन आउने छ । नगर अस्पताल स्वीकृत भएमा १५ शय्यामा सेवा दिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्