०२ असार २०८३, मंगलबार

बाघले मुखभित्र हालेको थियो यी व्यक्तिको टाउको, हेल्मेटले जोगायो ज्यान

असार ३०, २०७८
बाघले मुखभित्र हालेको थियो यी व्यक्तिको टाउको, हेल्मेटले जोगायो ज्यान

भारतको उत्तर प्रदेशमा रहेको पिलिभितमा एक व्यक्ति बाघको आक्रमणबाट जिउँदै उम्कन सफल भएका छन् । 

जंगलको बाटो हुँदै मोटरसाइकलमा गइरहेका तीनजनालाई दुईवटा बाघले आक्रमण गरेका हुन् । बाघलाई बाटोमा अचानक देखेपछि बाइक चलाउने आत्तिएर बाइक लडाएका थिए । 

उनीहरू लडेर ठीक बाघको पञ्जामा पुगे । 

विकास कुमारले मोटरसाइकल चलाइरहेका थिए । उनका दुई साथीहरू घटनास्थलमै मारिए । तर उनले हेल्मेट लगाएका हुनाले बाघले उनको टाउकोमा दाह्रा गाडेको भए पनि बाँच्न सफल भए । 

कडा हेल्मेट टोक्दा छक्क परेको बाघ पछि हटेको मौका छोपेर विकास नजिकैको एउटा रुखमा चढे र पातले छेकिएर बसे । 

बाघहरूले उनका दुईमध्ये एक साथीलाई खाइदिए अनि रुखमुनि नै कराइरहे ।

रातभरि काँपेर विकास रुखमा बसिरहे । 

साथीहरू सोनु कुमार र कान्धाई लाललाई बाघले मारे । लालको आधा शरीर घना जंगलमा भोलिपल्ट गाउँलेहरूले भेटे । 

घटना गत आइतवार भएको हो । विकासले घटना सम्झँदै भने, ‘जंगलमा बाघ छन् भनी हामीलाई चेतावनी दिइएको थियो तर घर जान हतारो भएकाले हामी त्यही बाटो गयौं । हेडलाइट धमिलो बलेकाले हामीले बाघ देखेनौं । मेरो ज्यान हेल्मेटले जोगायो भने सोनु र कान्धाई बाँच्न सकेनन् ।’
 

कान्धाईले पनि रुख चढ्न खोजेको तर बाघहरूले उनलाई लुछेर लगेको विकासले बताए । 

भोलिपल्ट बिहान रुखको बाटो हुँदै गाउँलेहरू गएपछि विकासले चिच्याएर बोलाए । अनि उनीहरूले विकासलाई उद्धार गरे । 
 

पिलिभित बाघ आरक्षका उपनिर्देशक नवीन खण्डेलवालले बाघ समात्नका लागि २६ वटा क्यामरा राखेको र कर्मचारीहरूले निगरानी गरिरहेको बताए । 

अस्पतालबाट घर फर्केका विकासले जिन्दगीभरि यी बाघहरूको छवि मस्तिष्कमा रहिरहने बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्