धनुषा, २५ जेठ - राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नभए चुनाव बहिस्कार गर्ने बताएका छन् ।

धनुषाको औरही गाउँपालिकाको कपटौलमा आज आयोजित विरोध सभा एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरु चुनावको विरोधमा नभई अधिकारका लागि आन्दोलित रहेको बताए ।
कार्यक्रममा राजपाका उपाध्यक्ष वृशेष चन्द्रलालले बलपूर्वक गरिने निर्वाचनबाट सिजृना हुने घटनाको जिम्मेवारी सरकार स्वयम्ले लिनुपर्ने उल्लेख गर्दै संविधान संशोधनबिना निर्वाचनको कल्पना समेत गर्न नसकिने बताए ।
यसैबीच राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए राजपा कुनै पनि हालतमा चुनाबमा सहभागी नहुने बताएका छन् ।
जनकपुरको कपलेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले मधेसको मुद्दालाई कसैले कमजोर ठानेर अगाडि बढ्यो भने यो कसैका लागि हितकर नहुने धारणा व्यक्त गरे ।