
बागलुङमा अन्तर्राष्ट्रिय स्तरको ‘टेलिमेडिसिन’ सेवा शुरू भएको छ ।
बेलायतमा रहेका विभिन्न संघसंस्था र अन्तर्राष्ट्रिय बागलुङ समाजको सहयोगमा बागलुङ नगरपालिकाले ‘टेलिमेडिसिन’ सेवा शुरू गरेको हो ।
बागलुङ नगरपालिकामा रहेको नगर स्वास्थ्य शाखाबाट सेवा सञ्चालन गरिएको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।
शुक्रवार नगर प्रमुख जनकराज पौडेलले ‘टेलिमेडिसिन’ सेवा शुभारम्भ गरेका छन् ।
तत्कालका लागि सदरमुकाममा खुलेको ‘टेलिमेडिसिन’ सेन्टर बिस्तारै दुर्गम गाउँका स्वास्थ्य चौकीमा विस्तार गरिने पौडेलले बताए । जटिल प्रकारका समस्या ‘टेलिमेडिसिन’का माध्यामबाट समाधान गरिने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए ।
अनलाइनमार्फत विदेशी विशेषज्ञ चिकित्सक समेत उपचार तथा परामर्शमा सहभागी हुनेछन् ।
नगरपालिका, एनआरएन युके, स्वीनफेन च्यारिटेबल ट्रस्ट बेलायत, अन्तर्राष्ट्रिय बागलुङ समाज र चार भञ्ज्याङ तमु समाज बेलायतको संयुक्त सहकार्यमा नगरपालिकामा ‘टेलिमेडिसिन’ सेवा शुरू भएको छ ।
अन्तर्राष्ट्रिय बागलुङ समाजका कार्यालय प्रमुख सुरेन्द्र कँडेलले भने, ‘कागजात पेश भएको १ घण्टामा चिकित्सकले सल्लाह, निदानको उपाय र औषधिको विषयमा जानकारी गराउनुहुन्छ ।’
वर्षको १ पटक चिकित्सकले बिरामीको प्रत्यक्ष जाँच र रोगको खोजपड्ताल गर्ने उनले बताए । पर्वतको फलेवास नगरपालिकामा सञ्चालनमा रहेको ‘टेलिमेडिसिन’ सेवा प्रभावकारी देखिएको भन्दै सोही नक्कल गर्दै बागलुङमा सेवा थालिएको हो ।
कार्यक्रम प्रभावकारी भएमा जिल्लाको ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिका लगायतका स्थान समेतमा ‘टेलिमेडिसिन’ शुरू गरिने अन्तर्राष्ट्रिय बागलुङ समाजका कार्यालय प्रमुख कँडेलले जानकारी दिए ।