
बागमती प्रदेशको १३ जिल्लामा असार मसान्तसम्ममा ८१ हजार हेक्टर खेती योग्य जमीनमा धान रोपाइँ सकिएको छ ।
बागमती प्रदेशमा समयमा नै वर्षा भएको कारणले नदी, खोला, नहर र आकाशे पानीले रोपाइँ समयमा गरिएको बताइएको छ । कतिपय ठाउँमा अझै रोपाइँ जारी छ ।
प्रदेशमा कूल १ लाख ३२ हजार २२८ हेक्टर जमिनमा धान खेती हुनेमध्ये ८१ हजार हेक्टर जमिनमा खेती भएको हो ।
प्रदेशमा गत वर्ष असार मसान्तसम्ममा ५२.२ प्रतिशत जमिनमा रोपाइँ गरिएको बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १३ जिल्लामध्ये चितवनमा ६५ प्रतिशतभन्दा बढी धान रोपाइँ सकिएको छ ।
चितवनमा २८ हजार ६०० हेक्टर क्षेत्रफलमध्ये १८ हजार ५९० हेक्टरमा रोपाइँ गरिएको बताइएको छ । मन्त्रालयका कृषि अधिकृत दीपेन्द्रमणि लामिछानेका अनुसार मकवानपुरमा ७ हजार ७०० हेक्टर जमिनमा रोपाइँ सकिएको छ ।