सिक्टस ग्रिनीङ लगायतका भाइरस एवं रोगका कारण सुन्तला खेती संकटग्रस्त बन्दै गएका अवस्थामा पोखरा महानगरपालिकामा सञ्चालित मेयर प्रविधिमैत्री सुन्तला बगैंचा व्यवस्थापन अभियानले कृषकमा आशा जगाएको छ ।
१ दशकको अन्तरालमा नै जिल्लाका सुन्तला पकेट क्षेत्र खण्डहर बन्दै गएपछि चिन्तित बनेका कृषक महानगरले सञ्चालन गरेको अभियानसँगै राज्यको चासो बढेको भन्दै यतिखेर उत्साहित बनेका छन् ।
किसानलाई प्रोत्साहन गर्दै सुन्तला क्षेत्रको विस्तार गर्ने लक्ष्यसाथ तीन वर्षयता सञ्चालित अभियानअन्तर्गत ४५ लाख रुपैयाँ अनुदान हस्तान्तरण गरिएको छ ।
आव २०७८/०७९ का लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
उनका अनुसार मलखाद प्रयोग गरेका ५ वर्षमाथिका बिरुवाको प्रतिबिरुवा ३० रुपैयाँ, बोडो पेस्ट लगायतका बिरुवाको ३० रुपैयाँ, बोडो मिक्स्चर स्प्रे गरेका बिरुवालाई २० र छापो प्रयोग गरेका बिरुवालाई २० रुपैयाँका दरले प्रोत्साहनस्वरुप अनुदान रकम उपलब्ध गराइएको हो ।
घोषित पकेट क्षेत्रका २०४ बगैंचाका २० हजार बिरुवाले उत्पादन दिइरहेको छ । ‘सुन्तला पकेट क्षेत्रको रूपमा रहेका महानगरपालिका वडा नम्बर २१ र २२ मा अभियान सञ्चालन भएको छ,’ उनले भने, ‘चालू आर्थिक वर्षमा २०४ कृषकलाई सुन्तलाको बोटको आधारमा १५ लाख रुपैयाँ अनुदान प्रदान गरिएको हो ।’
प्राविधिक सहितको टोलीले प्रत्येक कृषकको सुन्तला बगैंचामा पुगेर गरिएको अनुगमनको आधारमा अनुदान उपलब्ध गराइएको हो । कडरियाले भने, ‘रोगले बिरुवा मर्न लागेपछि बगैंचा सुधारका लागि महानगरले सञ्चालन गरेको कार्यक्रमअन्तर्गत चालू आवमा २० हजार सुन्तलालगायत कागती र जुनारका नयाँ बिरुवासमेत रोपिएको छ ।’ – हरि बास्तोला/रासस