
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा पहिराले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि १५ दिनदेखि खानेपानीको हाहाकार भएको छ ।
गत असार १७ गते मरुवा, उपल्लो खन्ना र बांखे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाइदिएपछि २०८ घर परिवारलाई खानेपानीको समस्या भएको हो ।
गाउँमा रहेका २८ वटा धारामा पानी नआएपछि स्थानीय वासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी नगरपालिका–२ बगरफाँटका टेकबहादुर कार्कीले बताए । २१४ घरधुरी रहेको बगरफाँटमा १५ दिनदेखि खानेपानीको समस्या हुँदा समेत कुनै वैकल्पिक व्यवस्था हुन नसक्दा स्थानीय वासिन्दा ठूलो समस्यामा परेका स्थानीयले बताएका छन् ।
विक्रम संवत् २०६९ सालमा बेनी नगरपालिका–३ भकिम्ली र बेनपा–२ ज्यामरुककोटको सिमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ वटा धारामा वितरण गरिएको थियो । ५४ लाख रुपैयाँको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो । त्यसपछि बर्सेनि बर्खाको समयमा बाढी र पहिरोले पाइप लाइनलाई क्षति पुर्याउँदा मर्मत गरी पानी सञ्चालन गर्ने गरिएकोमा यस वर्ष भने पाइप लाइन र मुहानलगायत ७ ठाउँमा ठूलो पहिरो गएकाले सामान्य मर्मतले मात्र सम्भव नहुने र निरन्तर वर्षा भइरहेकाले मर्मत कार्य गर्न नसकिएको बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष कृष्णबहादुर कार्कीले बताए ।
अध्यक्ष कार्कीका अनुसार अझै केही दिनसम्म समस्या यथावत रहने र वर्षा रोकिएपछि मर्मत कार्य अघि बढाइने छ । खानेपानीको समस्याका कारण बगरफाँटको २१४ घरधुरीका १ हजार २०० भन्दा बढी जनता प्रत्यक्षरूपमा प्रभावित भएका छन् ।