
पाल्पामा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।
सडकमा फसेको ट्रयाक्टरलाई निकाल्ने क्रममा तिनाउ गाउँपालिका–६ डुम्रेस्थित भित्री कच्ची सडकमा फसेको ट्रयाक्टर निकाल्ने क्रममा पहिरो खस्दा ट्रयाक्टरमा सहयोगीको काम गर्दै आएका बर्दियाको ठाकुरबाबा नगरपालिका–२ अस्मेरीका २७ वर्षीय महेन्द्र भनिने मुमलाल पुनको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।
पुनको उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको छ ।
प्रहरीका अनुसार डुम्रेबाट होलीघाटतर्फ ढुंगालोड गरी जाँदै गरेको लु४त ६६२९ नम्बरको ट्रयाक्टर हिलोमा फसेको थियो । ट्रयाक्टर फसेपछि लु१क २४९६ र लु१क २४९७ नम्बरको जेसीबीले ट्रयाक्टर निकाल्ने क्रममा अचानक माथिबाट खसेको पहिरोले ट्रयाक्टर र जेसीबी पुरिन जाँदा लु१क २४९६ नम्बरको जेसीबी चालक रैनादेवी छहरा गाउँपालिका–१ का २० वर्षीय सरोज बुढा घाइते भएका छन् ।
घाइतेको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।