
नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समिति सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्ने पार्टीका नेता, कार्यकर्तालाई कडा कारबाही गर्ने भएको छ ।
प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको पार्टीको पदाधिकारी बैठकले पार्टीको आसन्न १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता छानबिनका लागि गठित छानबिन समिति सदस्य घिमिरेमाथि आक्रमण गर्ने सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत र त्यसमा संलग्न अन्य कार्यकर्ताहरूलाई कारबाही गर्न पार्टीको अनुशासन समितिलाई निर्देशन दिएको हो ।
शनिवार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो घटनामा संलग्न नेता, कार्यकर्ताहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण लिई तीन दिनभित्र कारबाही गर्न सभापति देउवाले पार्टीको अनुशासन समितिलाई निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बस्नेत नेतृत्वको टोलीले शुुक्रवार बिहान छानबिन समिति सदस्य घिमिरेमाथि समितिको कार्यालयमै पुगेर हातपात गरेका थिए । सो घटना पार्टीको अनुशासन विपरीत रहेको निष्कर्ष निकाल्दै कांग्रेसले कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको हो ।
‘आजको बैठकले क्रियाशील सदस्यता छानबिन समितिले निर्णय गरेर ल्याएको पत्र बमोजिम नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत एवम् सो आक्रमणको घटनामा संलग्न भएका व्यक्तिहरू उपर २४ घण्टाभित्र स्पष्टीकरण सोधेर तीन दिनभित्र संगठनको अनुशासनको कारबाही गर्न पार्टी सभापति देउवाले अनुशासन समितिलाई निर्देशन दिनु भएको छ ।’
बैठकले क्रियाशील सदस्यता छानबिन समितिलाई सहयोग गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेको छ ।
बैठकले महाधिवेशनको क्रममा कुनै पनि खालको अराजक गतिविधि नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएको छ । नेपाली कांग्रेसको आगामी भदौ १६–१९ गते १४ औं महाधिवेशन हुँदैछ ।