
सुनसरीको कोशी गाउँपालिका–५ बाट कटुवा पोस्तोलसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीयवासी विध्यानन्द यादव र इन्द्रदेव यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जग्गाको विषयलाई लिएर दाजुभाइ उनीहरुबीच विवाद हुँदा इन्द्रदेवले दाजु विध्यानन्दलाई हतियार देखाएका थिए ।
सोही विषयमा दाजु विद्यानन्दले प्रहरीमा उजूरी दिएका अधारमा गएको प्रहरीको टोलीले चेकजाँच गर्दा घरदेखि ३०० मिटर पूर्वमा रहेको आँपको फेदमा कालो प्लास्टिकमा बेरेर राखेको अवस्था एक राउन्ड गोली लोड भएको कटुवा पेस्तोल बरामद भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । आज पक्राउ परेकाको विषयमा हातहतियार खरखजनासम्बन्धी कसूरमा मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ बाट आज लागुऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीयवासी १९ वर्षीय नसरुद्दिन मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।