
काठमाडौं, २६ जेठ — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले जलवायुसम्बन्धी पेरिस सम्झौताबाट बाहिरिने निर्णय गर्नु अदूरदर्शिता र मुर्ख्याइँ भएको उत्तर कोरियाले बताएको छ ।

ग्लोबल वार्मिङ मानवजातिले बेहोरिरहेको कठिनतम चुनौतीमध्येको एक भएको चेतावनी दिँदै उत्तरले अमेरिकी राष्ट्रपतिको निर्णयका कारण पूरै ग्रह नै अप्ठ्यारोमा परेको बतायो ।
‘अमेरिकाको यो स्वार्थी कार्यले वातावरण संरक्षणका लागि विश्वले गरेको प्रयासलाई गम्भीर असर पु–याउने मात्र नभई अन्य क्षेत्रलाई पनि ठूलो खतरा निम्त्याउँछ,’ प्योङयाङको आधिकारिक समाचार संस्था केसीएनएले लेख्यो ।
ट्रम्पले अमेरिका प्रथम नीतिका कारण यो निर्णय लिएको हुनसक्ने आँकलन गर्दै उत्तरले विश्वव्यापी वातावरण संरक्षण अमेरिकीहरूको पनि हितमा हुन्छ भन्ने तथ्यको ज्ञान ट्रम्पले नराखेको बतायो ।
‘यो घमण्ड र नैतिक शून्यताको पराकाष्ठा हो र पूरै ग्रहलाई दाउमा राखेर उनीहरू आफ्नो हित मात्र हेर्दैछन्,’ वक्तव्यमा भनिएको छ ।
विश्वबाट अलगथलग रहेपनि उत्तर कोरियाले पेरिस सम्झौतामा हस्ताक्षर गरेको छ र यसो गर्ने १९५ देशमध्ये एक बनेको छ । अहिलेसम्म १४७ देश सम्झौताको पक्षराष्ट्र बनेका छन् ।
निकारागुआ र सिरिया मात्र सम्झौताबाहिर छन् ।
जलवायु परिवर्तनका कारण सुक्खा वा बाढीको स्थिति आएर खाद्य अभाव हुने विज्ञहरूले चेतावनी दिएका छन् ।
एजेन्सी