
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले हातहतियारसहित ५ जनालाई पक्राउ गरेको छ ।
बाणगंगा नगरपालिका–८ र कपिलवस्तु नगरपालिका–२ बाट ५ जनालाई पक्राउ गरिएको हो ।
आरोपीको साथ पेस्तोल र भरुवा बन्दुक बरामद गरिएको छ ।
पक्राउ पर्नेमा बाणगंगा नगरपालिका–८ का ५१ वर्षीय टीकाबहादुर थापा, २५ वर्षीय गुमबहादुर राना, ४७ बर्षीय मीनबहादुर सेन र ४१ वर्षीय गोपाल थापा मगर तथा कपिलवस्तु नगरपालिका–११ जहदीका ३६ वर्षीय मातेश्वरप्रसाद यादव छन् ।
तौलिहवा जितपुर सडक खण्डमा प्रहरी टोलीको विशेष चेकजाँचको क्रममा पूर्वबाट पश्चिमतर्फ सवार भारतीय नम्बर प्लेटको यूपी ५५ डब्लु ८३२४ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच तथा खानतलासी गर्दा मातेश्वरप्रसाद यादवले कम्मर पेटीमा बाँधिराखेको पेस्तोल बरामद भएको कपिलवस्तु प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।
गोपाल थापा मगरको घरको कोठा खानतलासी गर्दा फलाम जडित १ नाले भरुवा बन्दुक एउटा र टीकाबहादुर थापा मगरको घरबाट भरुवा बन्दुक २ वटा र बारुद राखेको २ वटा बट्टा, २९४ ग्राम बारुद र छर्रा ६० गोटा, फलामले बनेको डोरी जडित जंगली जनावर मार्न प्रयोग हुने पासो समेत फेला परेको थियो ।
गुनबहादुर रानाको घर खानतालास गर्दा ७ फिट उचाइको काठ र फलामले बनेको १ नाले भरुवा बन्दुक र बारुद राखिएको २ वटा प्लास्टिकको बट्टा, ५१ ग्राम बारुद फेला पारेर बन्दुक तथा बारुद समेतलाई बरामद गरी आवश्यक कारबाही अगाडि बढाइएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।