०५ साउन २०८३, मंगलबार

कोदोको घरेलु रक्सी ‘ब्रान्डिङ’ गर्ने मन्त्रीको रहर तर कार्यदलका विज्ञलाई अलमल

साउन ५, २०७८
कोदोको घरेलु रक्सी ‘ब्रान्डिङ’ गर्ने मन्त्रीको रहर तर कार्यदलका विज्ञलाई अलमल

कोदोबाट बनेको प्रतिबन्धित घरेलु रक्सीलाई ‘ब्रान्डिङ’ गरेर विदेश निर्यात गर्ने रहरका साथ १ नम्बर प्रदेशकी सामाजिक विकास मन्त्री उषाकला राईले कार्यदल बनाइन् तर कार्यदलले तोकिएको समयमा प्रतिवेदन दिन नसकेर अलमल देखिएको छ ।

गत वैशाख १३ गते मन्त्री राईले रक्सी ‘ब्रान्डिङ’ गर्न कार्यदल गठन गरेकी थिइन् । १ नम्बर प्रदेश योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो ।

कार्यदललाई ४५ दिनभित्र प्रतिवेदन दिने कार्यादेश दिइएको थियो । समितिले तोकिएको समयभित्र प्रतिवेदन बुझाउन नसकेपछि साउन १५ गते प्रतिवेदन बुझाउने जनाएको छ । 

मन्त्री राईले स्वदेशी मदिरालाई प्रतिबन्ध लगाएर विदेशी मदिरालाई प्रोत्साहन गर्न नहुने भन्दै घरेलु मदिराको उत्पादन र बिक्री वितरणलाई प्रोत्साहन गर्न कानूनी आधारहरू तयार गर्न कार्यदल गठन गरिएको बताएकी थिइन् । 

‘ब्रान्डिङ गर्नका लागि उत्पादन र गुणस्तर मुख्य कुरा हो,’ कार्यदलका सदस्य तथा विराटनगरका सहप्राध्यापक डिल्लीकुमार प्रसाईले भने, ‘नेपालमा अहिलेसम्म लोकल रक्सीको गुणस्तर जाँच्ने निकाय नै छैन । मन्त्रीज्यूले ल्याएको योजना राम्रो भए पनि कानूनी बाधाअड्चन धेरै छन्, यिनै बाधा अड्चनका कारण हामी अलमलमा परेका छौं ।’

कार्यदलले घरेलु रक्सी ‘ब्रान्डिङ’का चुनौती र अवसर समेटेर प्रतिवेदन दिने कार्यदलका एक सदस्यले बताए । ‘मन्त्रीज्यूको चाहना कार्यदलले प्रतिवेदन बुझाउने बित्तिकै ब्रान्डिङ गर्ने भन्ने छ तर हामीले खोज, अनुसन्धान गरेर चुनौती र अवसर सहितको प्रतिवेदन दिन्छौं, अरु उहाँहरूले गर्ने हो,’ ती सदस्यले भने ।

कार्यदलमा प्रदेश योजना आयोग सदस्य मिना भण्डारी, मुख्यमन्त्री शेरधन राईका आर्थिक सल्लाहकार महेन्द्रबहादुर गुरुङ, स्नातकोत्तर क्याम्पस विराटनगरका सहप्राध्यापक डिल्लीकुमार प्रसाई, प्रदेश कृषि निर्देशनालयका प्रमुख प्रकाश डाँगी, सामाजिक विकास मन्त्रालयका उपसचिव अम्बिकाप्रसाद चौलागाई, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव कमलकुमार थापा, प्रदेश योजना आयोगका अधिकृत राकेश निरौला, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सहायक वनस्पति अधिकृत राजेश तामाङ छन् । कार्यदलको सदस्य सचिवमा सामाजिक विकास मन्त्रालयका कानून अधिकृत निर्मल भट्टराई छन् । 
कानूनी जटिलताबारे अन्योलता रहेकाले केही समस्या देखिएको कार्यदलका संयोजक लोक्सोमाले बताए ।

कार्यदलले प्रतिवेदन बुझाउन ढिलाइ गरेपछि मन्त्री राईले समेत कुरा फेर्न थालेकी छन् । उनले केही दिनअघि मात्रै प्रदेश सभाको बैठकमा तामाको भाडामा बनाएको रक्सी मात्रै ‘ब्रान्डिङ’ गर्ने बताइन् ।

मन्त्री राईका पति तथा निवर्तमान स्वास्थ्यमन्त्री समेत रहेका शेरबहादुर तामाङले गाँजालाई व्यावसायिकीकरण गर्नुपर्ने विषय उठाउने गरेका छन् ।

कमेन्ट गर्नुहोस्