२६ असार २०८३, शुक्रबार

महामारीका बेला पनि महाधिवेशन गर्न सक्नेगरी कांग्रेसले तयार पार्‍यो डिजिटल प्रविधि

महामारीका बेला पनि महाधिवेशन गर्न सक्नेगरी कांग्रेसले तयार पार्‍यो डिजिटल प्रविधि

नेपाली कांग्रेसले प्रविधिको प्रयोग गरेर महाधिवेशन गर्न सकिने गरी विकल्प तयार पारेको छ ।

कोरोना महामारीकै अवस्थामा महाधिवेशन गर्नुपर्ने अवस्थाका लागि यस्तो विकल्प तयार पारिएको नेपाली कांग्रेस, सूचना सञ्चार तथा प्रचार विभागका सचिव दिनेश थापा मगरले बताए ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा प्रमुख रहेको सूचना, सञ्चार तथा प्रचार विभागले ‘डिजिटल भोटिङ’ प्रविधिबाट महाधिवेशनमा भोटिङ गर्न सक्ने विकल्प ल्याएको हो ।

महाधिवेशनमा यो विकल्प प्रयोग गर्नका लागि भने केन्द्रीय समितिले निर्णय गर्नुपर्ने हुन्छ ।

नेपाली कांग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन गर्ने मिति तय गरेर तयारी थालेको छ ।

७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशन प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको थापा मगरले जानकारी दिए ।

डिजिटल भोटिङ प्रविधिले ७ प्रदेशको निर्वाचनसम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सक्ने क्षमता रहेको उनले बताए । सबै तहका अधिवेशनका लागि भने यो प्रविधिको विकास नगरिएको उनको भनाइ छ ।

प्रदेश र केन्द्रीय महाधिवेशनमा मात्रै यो प्रविधि प्रयोग हुने गरी बनाइएको छ ।

यो प्रणालीअनुसार कांग्रेसले महाधिवेशन गर्दा महाधिवेशन प्रतिनिधि काठमाडौं वा प्रदेशका केन्द्रहरूमा उपस्थित भइरहनुपर्दैन ।

यो डिजिटल प्रविधि अहिले महाधिवेशनमा प्रयोग नभए पनि नेपाली कांग्रेसको सम्पत्तिको रूपमा आन्तरिक रुपमा सुरक्षित भएर रहने उनले बताए ।

७७ वटै जिल्लाको पार्टी कार्यालयमा मतदान गर्ने केन्द्र हुने र महाधिवेशन प्रतिनिधि ती केन्द्र पुगेर मतदान गर्न सक्ने थापामगरले जानकारी दिए ।

नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले १४ औं महाधिवेशन प्रचार प्रारम्भ गर्ने निर्णय पनि गरेको छ ।

यसपटकको प्रचारलाई विगतभन्दा भिन्न र जीवन्त शैलीमा अघि बढाउने निर्णय बैठकले गरेको उनले बताए ।

‘विषयकेन्द्रित प्रचारलाई गहन बनाउन केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग आवश्यक समन्वय गर्ने निर्णय बैठकले गरेको छ’, थापामगरले भने ।

salt training

कमेन्ट गर्नुहोस्