२० असार २०८३, शनिबार

विपदबारे छलफल गर्न सुशासन समितिले गृहमन्त्रीलाई बोलाउने

विपदबारे छलफल गर्न सुशासन समितिले गृहमन्त्रीलाई बोलाउने
फाइल फोटो

राज्य व्यवस्था तथा सुशासन समितिमा विपद् र दैवी प्रकोप सम्बन्धी विषयमा मन्त्रीलाई बोलाएर छलफल गर्ने निर्णय भएको छ । 

समितिको मंगलवारको बैठकमा सभापति शशी श्रेष्ठले शुक्रवार मन्त्रीलाई बोलाएर यस विषयमा छलफल गर्ने बताइन् ।

समितिको बैठकमा सांसदहरूले बाढी, पहिरो तथा डुबानबाट पीडित भएका जनताको उद्दार, राहत तथा पुनःस्थापनापछिको विषयमा जनस्तरबाट गुनासो आएको बताएका थिए ।

कतिपय स्थानमा सरकारको उपस्थिति नै नभएको भन्दै गृहमन्त्री बालकृष्ण खाँणलाई बोलाएर जानकारी लिने माग गरेका थिए ।

छलफलमा विपद् तथा दैवी प्रकोप सम्बन्धी कुरामा सांसदहरूले आफ्नो धारणा राखेका थिए । सांसद दिलेन्द्रप्रसाद बडूले प्रतिवेदनमा रहेका प्रमुख बुँदाहरू सचिवालयले उल्लेख गरेर आफ्नो भाषामा राख्न अनुरोध गरे ।

छलफलमा बोल्दै सांसद विजय सुब्बाले प्रतिवेदन आफूले पढ्न पाउने माग राख्दै अध्ययनपछि मात्रै यसमा सुझाव दिनसक्ने बताए ।

सांसद प्रेम सुवालले समितिमा पेश भएको प्रतिवेदनमा सुझाव नपुगेको गुनासो गरे । ३ वटै उपसमितिले बनाएको प्रतिवेदन अर्को एक समितिले हेर्दा उपयुक्त हुने उनको धारणा थियो ।

सांसद यशोदा सुवेदी गुरुङले मनाङ र सिन्धुपाल्चोकका प्राकृतिक प्रकोपबाट पीडितलाई अझै राहत दिन नसकेको बताइन् । उनले राहतमा खसी देखाएर फर्सी दिने त्यो पनि आज, भोलि नभएर पर्सि भएको बताइन् ।

सांसद डा. डिला संग्रौलाले उपसमितिले दिएको प्रतिवेदन स्वीकार्दै समितिका सुझावलाई प्रतिनिधि सभामा लैजाने वातावरण मिलाउन सुझाइन् ।

सांसद लालबाबु पण्डितले उपसमितिको विषयमा छलफल मात्रै भएको तर समितिले प्रतिवेदन तयार नगरेको बताए । सुशासन समितिको बैठकमा बोल्दै पण्डितले समितिले प्रतिवेदन ड्राफ्टमा ल्याएर छलफल गर्नुपर्ने धारणा राखे ।

संसद पुनःस्थापना भएपछि संसदीय राज्य व्यवस्था तथा सुशासन समितिको पहिलो बैठक बसेको छ । 

salt training

कमेन्ट गर्नुहोस्