
सूचना तथा प्रसारण विभागले अब प्रेस प्रतिनिधि प्रमाणपत्र अनलाइनबाटै दिने भएको छ ।
मंगलवार सूचना जारी गर्दै साउन १० देखि अनलाइन सेवा शुरू गर्न लागेको हो ।
विभागका अनुसार नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकको परिचयपत्र, नवीकरण, अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण कार्यहरू अनलाइनमार्फत हुनेछन् ।
यसका लागि सेवाग्राहीले विभागको वेबसाइटबाट आवेदन दिनुपर्नेछ ।
यस्तै साउन १० देखि सेवाग्राहीको प्रत्यक्ष उपस्थितिमा हुने सेवा प्रवाह दिउँसो १ बजेसम्म मात्रै रहने विभागले जनाएको छ ।
सेवाग्राहीको प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाइन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र काठमाडौं उपत्यकाको हकमा निवेदन दिएको भोलिपल्टबाट विभागबाट उपलब्ध गराइने छ ।
उपत्यकाबाहिरका सेवाग्राहीको हकमा सेवाग्राहीको मागअनुसार विभाग वा सम्बन्धित जिल्ला हुलाक कार्यालयबाट उपलब्ध गराउने व्यवस्था गरिने विभागले जनाएको छ ।