
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको नागरिक उड्डयन, युरोपेली मुलुकहरू र इजरायल हेर्ने डेस्कले निषेधाज्ञाको समयमा चार्टर्ड फ्लाइटको भाडा बढी लिनेलाई कारवाही गर्नुपर्ने बताएको छ ।
मंगलवार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग छलफल गर्दै निषेधाज्ञाको समयमा बढी भाडा लिनेहरूलाई कारवाही गर्न अनुरोध गरिएको हो ।
छलफलबारे जानकारी दिँदै समिति सदस्य दिव्यमणि राजभण्डारीले नाजायज फाइदा उठाउनेलाई कारबाही गरिनुपर्ने भन्ने कुरा राखेको बताए ।
‘नाजायज फाइदा उठाएकालाई कारवाही होस् भन्ने हाम्रो भनाइ छ,’ उनले भने, ‘उहाँहरूले गल्ती गर्नुभएको छैन र कम्युनिकेसन ग्यापले गर्दा अप्ठ्यारो भएको हो भने उहाँहरूलाई इन्फरमेसन राम्रो जाओस् भन्ने धारणा राख्यौँ ।’
उनले नेपाल वायु सेवा निगमसँग चिनियाँ जहाजको सञ्चालनमा देखिएको समस्या सम्बन्धमा पनि छलफल गरिएको बताए ।
साथै आन्दोलनरत कर्मचारीले किन आन्दोलन गरिरहनुपरेको छ भन्ने विषयमा पनि समिति सदस्यहरूले जानकारी लिएको उनको भनाइ छ ।
निगमको समस्या समाधानको निम्ति समितिले सरकारलाई आवश्यक निर्देशन दिन तयार रहेकाले सुझाव दिन अनुरोध गरेको राजभण्डारीले बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले चार्टर्ड फ्लाइटमा स्वाभाविक रुपमा भाडा बढी हुने भए पनि अनियमितता भने नभएको बताए । एयरलाइन्सको पक्षबाट कुनै पनि अनियमितता नभएको उनको भनाइ छ ।