१७ असार २०८३, बुधबार

व्यायामशाला खुलाउन काठमाडौंका सीडीओलाई आग्रह

व्यायामशाला खुलाउन काठमाडौंका सीडीओलाई आग्रह

काठमाडौं व्यायाम व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीलाई व्यायामशाला खुलाउन आग्रह गरेको छ ।

कोरोना भाइरस संक्रमणको महामारी रोकथामका लागि भएको निषेधाज्ञासँगै व्यायामशाला बन्द गरिएको थियो । अन्य विभिन्न क्षेत्र खुकुलो हुँदै जाँदा समेत व्यायामशाला खुलेका छैनन् ।

‘अस्पताल उपचार गर्ने स्थान हो भने जिम तथा हेल्थ क्लबहरू पनि रोग लाग्न नदिन र रोग नियन्त्रण गर्ने प्रमुख थलो भएकाले यस व्यवसायलाई डान्सबार, रात्रिकालीन व्यवसाय, रेस्टुरेन्ट वा मनोरञ्जन स्थलसँग तुलना गर्दै एउटै वर्गमा नराखिदिनुहुन यहाँमार्फत ध्यानाकर्षण गराउँदै ‘राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद’ भन्ने नारा सार्थक बनाउन मद्दत गर्न हार्दिक अनुरोध गर्दछौं,’ अध्यक्ष सुरेश सुवेदीले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

गत वर्ष पहिलो लहरको महामारीका कारण भएको लकडाउनमा करीब १० महिना पूर्ण रूपले बन्द रहेको व्यायामशाला खुलेसँगै दोस्रो लहरले पुनः बन्द हुँदा व्यवसाय थलिएको जनाइएको छ ।

यस्तो छ ध्यानाकर्षण पत्र –

मिति - २०७८ श्रावण ०५

श्री कालि प्रसाद पराजुली ज्यू

प्रमुख जिल्ला अधिकारी,

जिल्ला प्रशासन कार्यालय, काठमाण्डौँ ।

विषय: व्यायामशाला खुलाउने सम्बन्धमा ध्यानाकर्षण गराइएको बारे ।

महोदय,

उपरोक्त सम्बन्धमा विश्वभर फैलिएको कोरना भाइरस कोभिड - १९ को दोस्रो लहरका कारण विगत लामो समय देखि मानव जीवनको दैनिकी अस्तव्यस्त भएको कुरा यहाँलाई अवगत नै छ । विश्वभर फैलिएको कोरोना - १९ महामारीबाट हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन । जसका कारण समूह स्तरमा रोग नफैलियोस् भन्ने उद्देश्यका साथ गत २०७८ साल बैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएकोमा हालका दिनहरुमा केही मात्रामा रोग नियन्त्रण गर्न सरकार सफल भएको कारण विभिन्न मितिहरुमा निषेधाज्ञा खुकुलो गर्दै लगेको देखिन्छ र सम्पूर्ण बजार पसल खुल्ला हुनुका साथै सम्पूर्ण निजि, सार्वजनिक तथा लामो दूरीका सवारी साधन समेत  संचालन भैसकेको अवस्था छ ।

जसरी अस्पताल उपचार गर्ने स्थान हो भने जिम तथा हेल्थ क्लबहरू पनि रोग लाग्न नदिन र रोग नियन्त्रण गर्ने प्रमुख थलो भएकोले यस ब्यबसायलाइ डान्सबार, रात्रीकालिन ब्यबसाय, रेष्टुरेन्ट वा मनोरञ्जन स्थल संग तुलना गर्दै एउटै बर्गमा नराखि दिनु हुन यहाँ मार्फत ध्यानाकर्षण गराउँदै राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने नारा सार्थक बनाउन मद्दत गर्न हार्दिक अनुरोध गर्दछौं ।

गत वर्षको पहिलो लहर को महामारीका कारण भएको लक डाउनमा करिब १० महिना पूर्णरुपले बन्द रहेको ब्यायामशाला हालै मात्र सञ्चालनमा आएको सर्वविदितै छ । तर

बिस्तारै उठ्न खोज्दै गरेको जिम ब्यबसाय पुन देखा परेको दोस्रो लहरको महामारीको कारण पूर्णरूपमा थलिएको अवस्थामा आइपुगेको छ ।

ब्यायाम गर्नु वा जिम गर्नु भनेको खेलकुद मात्र वा अझ भनौ मनोरञ्जन मात्र नभएर ब्यायामशालालाइ स्वास्थ्य चौकीको रुपमा देश र जनताको स्वास्थ्यसँग सम्बन्धित हो भनेर बुझिदिनु हुन सम्बन्धित निकायलाई यहाँ मार्फत ध्यानाकर्षण गराउँदै बिश्व स्वास्थ्य संगठनको स्वास्थ्य सम्बन्धी मापदण्ड पूरा गरी हामी ब्यायामशाला सञ्चालनमा ल्याउन तयार रहेको कुरा यस जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित निकायमा जानकारी गराउन चाहन्छौं ।

आजसम्म यो रोगको कुनै औषधि पत्ता नलागेको र यस रोगसँग लड्न खोप लगाउनु पर्ने भएकोमा हाल विभिन्न कारणले सर्वसुलभ रुपमा खोप उपलब्ध हुन नसकिरहेको अवस्थामा बिश्व स्वास्थ्य संगठन र नेपालका स्वास्थ्य विज्ञहरूको सुझाव अनुसार मानव शरिरको प्रतिरक्षा प्रणालीलाई बलियो र मजबुत बनाउन सकिएमा उक्त रोगसंग लड्न र रोगलाई जित्न सकिने कुरा जानकारीमा आएको छ । जसका लागि उचित खानपिनका साथै दैनिक व्यायाम अपरिहार्य हुन्छ, उक्त कुरालाई विश्वभरका स्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् । संसारभरका स्वास्थ्य विशेषज्ञहरुले यो महामारीको छिट्टै अन्त्य नहुने बताउँदै यस रोगलाई हराउन ब्यायाम गर्नमा जोड दिँदै आइ रहेका छन । मुटुका बिरामीहरु, प्रेसरका बिरामीहरु, चिनी रोगका विरामीहरु, मोटोपनले ग्रस्त व्यक्तिहरु, फिजियोथेरापी गर्नपर्ने बिरामीहरु र मानसिक रोग लाग्न नदिन त  झनै व्यायाम अपरिहार्य नै छ । जसकालागि हाल बन्द रहेको ब्यायामशाला यथाशीघ्र खोल्न जरुरी छ ।

काठमाण्डौँ जिल्लामा मात्र करिब २५० वटा ब्यायामशालाहरु रहेको छ । गत वर्षको लकडाउनमा करिब १० महिना बन्द गर्नु परेको कारण र हालका दिनहरुमा पनि करिब तीन महिना देखि नेपाल सरकार द्वारा जारी गरिएको निषेधाज्ञाका कारण ब्यबसाय बन्द गर्नु परेकोले यस व्यवसाय संग आश्रित व्यवसायी, मजदुर, प्रशिक्षक, कर्मचारीहरु र सप्लिमेन्ट ब्यबसायिहरु बेरोजगार र पीडित हुनुपरेको अवस्था छ ।

खेलकुद परिषदको‌ मिति २०७८/०३/०९ पत्र संख्या २००/०७७/०७८ को पत्र‌ अनुसार स्थानीय निकाय संग समन्वय गरि प्रशिक्षण गराउन तथा आगामी दिनहरुमा विभिन्न राष्ट्रहरुमा सम्पन्न हुन लागेको शारीरिक सुगठनका प्रतियोगिताहरुमा नेपालबाट पनि खेलाडीहरु पठाउन अनुरोध भए अनुसार नेपालमा पनि खेलाडी छनौट गर्नुपर्ने र सोको लागि कम्तीमा ६ महिना लाग्ने र छनोट पश्चात अन्तराष्ट्रिय प्रतियोगिताको लागि अभ्यास पनि गर्नुपर्ने हुनाले विगतका वर्षहरुमा विश्वब्यापि प्रतियोगितामा स्वर्ण सहित धेरै पदकहरु जित्दै नेपाल र नेपालीको शिर उचो राखि सकेका खेलाडीहरु उत्पादन गर्ने व्यायामशाला यथासक्य छिटो खोली पुनः अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम राख्न मद्दत गर्नु हुन यहाँ मार्फत ध्यानाकर्षण गराउन चाहन्छौं ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौँको पहलमा नेपाल सरकारबाट अनुमति पाएमा हामी निम्नलिखित नियम र शर्तहरुको पूर्ण पालना गरी ब्यायामशाला सञ्चालन गर्न तयार छौं ।

१. ब्यायामशाला प्रवेश गर्दा अनिवार्य तापक्रम मापन गर्ने ।

२. ब्यायामशाला प्रवेश अघि र पछि अनिवार्यरुपमा हात खुट्टा साबुन पानीले धुने वा स्यानिटाइजर प्रयोग गराउने ।

३. ब्यायाम गर्दा सामाजिक दुरीको पालना गराउने ।

४. ब्यायामशालामा आउने सम्पूर्ण सदस्यहरूको व्यक्तिगत विवरण राख्ने ।

५. प्रत्येक एक घन्टामा ब्यायामशाला निर्मलीकरण गर्ने ।

६. अनिवार्य रूपमा मास्क पञ्जा, छुट्टै लुगा र जुत्ताको प्रयोग गराउने ।

७. एकपटकमा ( करिब २००० बर्ग फिटको हलमा )१० जनाभन्दा बढीलाइ ब्यायाम नगराउने ।

८. ब्यायामशालामा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्यरूपमा सावधानीका उपायहरु अवलम्बन गराउने ।

९. आबस्यक परेको खण्डमा ब्यायामशाला अनुगमनको लागि यस संघले सम्बन्धित निकाय सँग समन्वय गरि सहयोग गर्न तयार रहेको जानकारी गराउँदछौं ।

यहाँमार्फत यस समस्याको उचित सम्बोधन हुनेछ भन्नेमा यस काठमाण्डौं व्यायाम व्यवसायी संघ विश्वास ब्यक्त गर्दछ ।

 अध्यक्ष

सुरेश सुबेदी

कमेन्ट गर्नुहोस्