३१ जेठ २०८३, आइतबार

सेनाले सार्वजनिक गर्‍यो द्रूतमार्ग सडकको प्रगति विवरण

सेनाले सार्वजनिक गर्‍यो द्रूतमार्ग सडकको प्रगति विवरण

नेपाली सेनाले काठमाडौं–तराई/मधेश द्रूतमार्ग सडक आयोजनाको गत आर्थिक वर्ष २०७७/७८ असार मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ ।

आयोजनामा गत आवमा ८ अर्ब ९६ करोड ८८ लाख रुपैयाँ विनियोजन भएकोमा वार्षिक प्रगति ९७.३४% रहेको सेनाले जनाएको छ ।

गत आवमा आयोजनाको कूल अंशको थप ५.१०% काम सम्पन्न भई आयोजनाको कूल कार्यको १६.२१% प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएकोमा समष्टिगत भौतिक प्रगतितर्फ १६.१०% र वित्तीयतर्फ १४.५१% लक्ष्य हासिल भएको सेनाले जनाएको छ ।

सुरुङ मार्ग निर्माणतर्फ अन्तर्राष्ट्रिय बोलपत्र आह्वानपश्चात आवश्यक प्रक्रिया पूरा गरी अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनौट कार्य सम्पन्न भई कार्य प्रारम्भ गरिएको जनाइएको छ ।

सडक आयोजनाको डिजाइन तथा कन्स्ट्रक्सन सुपरभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता तथा स्थानीय विषय विज्ञहरू छनौट गरी सर्भे लगायतका कार्य सञ्चालन गरिएका सेनाले जनाएको छ ।

आयोजनास्थलमा १४ वटा बेलिब्रिज जडान गर्ने योजना अनुसार ८ वटा बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याइएको, अन्य जडान हुने क्रममा रहेको, पुल तथा सुरुङ निर्माण कार्यको लागि आवश्यक पर्ने पहुँचमार्ग निर्माण कार्य अगाडि बढाइएको सेनाले जनाएको छ ।

यस्तो छ सार्वजनिक विवरण –

काठमाण्डौ–तराई/मधेश द्रुतमार्ग सडक (Expressway) आयोजनाको प्रगति विवरण 

१.    नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय बमोजिम नेपाली सेनाले निर्माण व्यवस्थापनको जिम्मेवारी पाएको काठमाण्डौ–तराई/मधेश द्रुतमार्ग सडक (Expressway) आयोजनाको आ.ब. ०७७/७८ को अन्त्यसम्ममा प्रगति विवरण निम्न अनुसार रहेको जानकारी गराईन्छ ।

(क)    गत आ.ब. ०७७/७८ मा ८ अर्ब ९६ करोड ८८ लाख विनियोजन भएकोमा बार्षिक प्रगति ९७.३४ % रहेको छ । गत आ.ब. मा आयोजनाको कुल अंशको थप ५.१० % काम सम्पन्न भई आयोजनाको कुल कार्यको १६.२१% प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएकोमा समष्टिगत भौतिक प्रगतितर्फ १६.१० % र वित्तिय तर्फ १४.५१ % लक्ष्य हासिल भएको छ ।

(ख)    सुरुङ्ग मार्ग निर्माणका लागि EPC (Engineering Procurement Construction) Model मा अन्तर्राष्ट्रिय बोलपत्र आव्हान पश्चात आवश्यक प्रक्रिया पूरा गरी अन्तर्राष्ट्रिय निर्माण व्यवसायी छनौट कार्य सम्पन्न भई मिति २०७८ ज्येष्ठ ३१ गतेबाट दुवै सुरुङ्ग ठेक्का प्याकेजहरुको Commencement भई मोविलाईजेशन सहित कार्य प्रारम्भ गरिएको छ । 

(ग)    सडक आयोजनाको डिजाईन तथा कन्स्ट्रक्शन सुपरभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता तथा स्थानिय विषय विज्ञहरु छनौट गरी सर्भे लगायतका कार्यहरु सुचारु गरिएको छ । हाल उक्त परामर्शदाताबाट Team Leader, Project Coordinator, Tunnel Engineer, Highway Engineer, Bridge Engineer, Material Engineer, Road and Safety Expert, Senior Geologist र Geotechnical Engineer हरुले कार्य प्रारम्भ गरेका छन् ।

(घ)    आयोजनास्थलमा १४ वटा बेलिबृज जडान गर्ने योजना अनुसार ८ वटा बेलिबृज जडान गरी सञ्चालनमा ल्याईएको छ भने अन्य जडान हुने क्रममा रहेको छ साथै पुल तथा सुरुङ्ग निर्माण कार्यको लागि आवश्यक पर्ने पहुंच मार्ग निर्माण कार्य अगाडी बढाईएको छ ।

(ङ)    आयोजनाको ५ (पाँच) स्थानमा Basic Lab Equipment जडान गरी गुणस्तर परिक्षण गर्ने कार्य गरिएको साथै अन्तर्राष्ट्रिय परामर्शदाताको परामर्श अनुसार Advance Lab Equipment हरु समेत थप गर्ने व्यवस्था मिलाईएको छ ।

(च)    हालसम्म ९१.५ % जग्गा अधिकरण तथा मुआब्जा वितरण सम्बन्धि कार्य सम्पन्न गरिएको छ भने खोकना-बुङमति ईलाकामा रहेको जग्गा विवाद समाधान गर्न श्री राष्ट्रिय योजना आयोगको संयोजकत्वमा समन्वय उप-समिति गठन गरी आवश्यक समन्वय तथा पहल भइरहेको छ ।  

(छ)    रुख कटान तथा व्यवस्थापन सम्बन्धि कार्य शतप्रतिशत रुपमा सम्पन्न गरिएको छ । रुख कटान भए अनुसार १:२५ को अनुपातमा बृक्षारोपण गर्ने कार्य मुताविक चालु आ.ब. को आषाढ मसान्तसम्म कुल जम्मा २,४९,१६६ वटा वृक्षारोपण गरिएको छ । 

(ज)    आयोजनाको समष्टिगत वातावरण प्रभाव मूल्याङ्कन (EIA) तथा सुरुङ्ग मार्ग र पुल निर्माण सम्बन्धमा केही परिमार्जन भए अनुरुप पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (SEIA) स्वीकृति भई कार्य प्रारम्भ गरिएको छ ।

२.     नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त जिम्मेवारी अनुरुप राष्ट्रको विकास र समृद्धिको लागि कोशेढुङ्गा सावित हुने राष्ट्रिय गौरवको काठमाण्डौ–तराई/मधेश द्रुतमार्ग सडक (Expressway) आयोजना कोभिड-१९ को कारण भएको ढिलाइका बाबजुद समयमै सम्पन्न गर्न सदैव कटिबद्ध रहेको जानकारी गराईन्छ ।

salt training

कमेन्ट गर्नुहोस्