
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेकपा एमालेका दुवै समूह (संस्थापन पक्ष र माधव नेपाल पक्ष)को छुट्टाछुट्टै बैठक बुधवार बस्दैछ ।
सोमवारदेखि शुरू भएको केन्द्रीय कमिटीको बैठक दिउँसो ३ बजे बस्दैछ । पार्टी विवाद समाधान गर्न कार्यदलले दिएको १० बुँदे सहमति कार्यान्वयन लगायत ९ बुँदे एजेन्डाबारे केन्द्रीय समितिमा छलफल हुनेछ ।
सोमवारको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । ९ बुँदे एजेण्डामा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका सचिव एवं केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।
माधव नेपाल पक्षको स्थायी कमिटी बैठक पनि बुधवार नै बसिरहेको छ । भर्चुअल माध्यमबाट बसिरहेको बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
माधव नेपाल समूहले मंगलवार देउवाको पक्षमा भोट हालेका २२ जना सांसदहरूसँग छलफल गरेको थियो । हिजोको भेलाले संस्थापन पक्षले स्पष्टीकरण सोधे पनि जवाफ नपठाउने निर्णय गरेको थियो ।
माधव नेपाल समूहमा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारमा सहभागी हुनेबारे समेत छलफल चलिरहेको छ ।