
मंगलवार राति परेको अविरल वर्षाका कारण कालीकोटको खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर प्रयोग गरिएको खाँडाचक्र नगरपालिका–२ का वडाध्यक्ष बिर्खबहादुर विकले बताए ।
‘अविरल वर्षाका कारण राजमार्ग माथिबाट पहिरो खसेको छ,’ उनले भने, ‘सडक डिभिजन कार्यालयको पहलमा अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।’
पहिरोका कारण यात्रुहरू अलपत्र पर्नाका साथै यातायातका साधन र मालबाहक सामान बोकेका ट्रकहरू बीच बाटोमै रोकिएको यातायात व्यवसायी किशोर बिष्टले जानकारी दिए ।
अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर र जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । ‘पहिरो पन्छाउने काम भइरहेको छ,’ उनले भने, ‘आज बेलुकासम्ममा राजमार्ग खुला हुन्छ ।’
अविरल वर्षाका कारणले कर्णाली करिडोर अन्तर्गतको सान्नी त्रिवेणी गाउँपालिका–१ को रेगिलमा ठूलो पहिरो गएकोे छ । पहिरोका कारण कर्णाली करिडोर पनि अवरुद्ध रहेको सान्नी त्रिवेणी गाउँपालिका–१ का वडाध्यक्ष भरत विकले बताए ।
‘करिडोरमा पानी पर्नासाथ पहिरो जाने र राजमार्ग बन्द हुने गरेको छ,’ उनले भने ।