
यती एयरलाइन्स प्रालिको सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलगेटमा ट्राफिक बत्ती जडान गरिएको छ ।
निजी क्षेत्रको हवाई संस्था यतीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एयरपोर्टको मुख्य प्रवेशद्वार गोल्डेनगेटमा ३ वटा अत्याधुनिक ट्राफिक बत्ती जडान गरेको हो ।
ट्राफिक बत्तीको बिहीवार बिहान यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनोज रिमाल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले संयुक्त रूपमा उद्घाटन गरे ।
कार्यक्रममा महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले ट्राफिक प्रहरीले शहरलाई सभ्य र अनुशासित बनाउने भएकाले विभिन्न संघसंस्थाको सहकार्यमा उपत्यकाका विभिन्न चोकमा ट्राफिक बत्ती जडान कार्यलाई प्राथमिकता दिएको बताए ।
ट्राफिक बत्तीले ट्राफिक व्यवस्थापनमा सहजता ल्याई चालकलाई सभ्य र अनुशासित सिकाउने अपेक्षा लिएको उनको भनाइ छ । यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत रिमालले यती एयरलाइन्सले आफ्नो संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एयरपोर्ट भित्रिने मुख्य प्रवेशद्वारमा ट्राफिक बत्ती जडान गरेको बताए ।