१७ असार २०८३, बुधबार
एमाले विवाद

माधव नेपाल पक्षमाथिको कारवाही थाती, एमालेले एकताका लागि अन्तिमसम्म प्रयास गर्ने

माधव नेपाल पक्षमाथिको कारवाही थाती, एमालेले एकताका लागि अन्तिमसम्म प्रयास गर्ने

नेकपा एमालेले पार्टीमा सहमति र एकताका लागि भइरहेको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ । 

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको चौथो दिनको बैठकले एकतामा सबैलाई समेट्न अन्तिम प्रयास गर्ने निर्णय गरेको हो । 

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको एकताका लागि भइरहेको प्रयासलाई निरन्तरता दिने निर्णय भएको जानकारी दिए । 

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसदमाथि सोधिएको स्पष्टीकरणबारे केन्द्रीय कमिटीले कुनै निर्णय गरेन । अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा हिजो २४ घण्टे स्पष्टीकरण सोधिएको थियो । 

‘पार्टीको एकतालाई कायम राख्नका लागि भइरहेका प्रयासका बारेमा छलफल भयो र यो प्रयासलाई थप निरन्तता दिने निर्णय भयो,’ ज्ञवालीले भने, ‘अध्यक्षले पार्टी एकताको सुदृढ गर्नेगरी आउन चाहने साथीहरूलाई विगतका गल्ती बिर्सेर पनि स्वागत गर्न सकिने कुरा बताउनुभएको छ ।’ 

प्रवक्ता ज्ञवालीले पार्टी एकताका लागि छलफल चलिरहेको तथा विघटित कार्यदलका सदस्यहरू निरन्तर संवाद रहको हुनाले छलफललाई निरन्तरता दिने निष्कर्ष निकालिएको बताए । 

‘पार्टीको एकतालाई सुदृढ गर्नका लागि चलिरहेको प्रयासलाई निरन्तरता दिने निर्णय भएको छ । साँच्चिकै पार्टीलाई बलियो बनाउने संकल्पका साथ आउने हो भने विगतका कुरालाई बिर्सिन सकिने र क्षमा गरिने कुरा अध्यक्षले बैठकमा गर्नुभएको छ,’ ज्ञवालीले भने ।

केन्द्रीय कमिटी बैठकअघि सोही स्थानमा भएको पुष्पलाल स्मृति दिवस कार्यक्रममा ओलीले माधव नेपाल पक्षका नेताहरूलाई विगतका गल्तीका लागि माफी दिइने बताएका थिए । 

केही दिनअघि ‘अन्य नेताको हकमा आत्मालोचना गर्ने ठाउँ भएपनि माधव नेपालको हकमा नभएको’ बताएका ओलीले सबै नेतालाई माफी दिने घोषणा गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

माधव नेपाल पक्षका २२ सांसदले पनि आजै ओलीको स्पष्टीकरणको ४ बुँदे जवाफ पठाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्