२५ जेठ २०८३, सोमबार

गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, यी सांसद बन्दैछन् मन्त्री

गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै, यी सांसद बन्दैछन् मन्त्री
फाइल फोटो

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दैछन् । 

प्रदेशमा ११ मन्त्रालयमध्ये माओवादी केन्द्रको भागमा परेका ४ मन्त्रालयको टुंगो लागेको छ ।

माओवादीको भागमा परेको अर्थ मन्त्रालयमा रामजी बराल जीवन, कृषिमा चन्द्रबहादुर बुढा र वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयमा दीपक चर्तीमगर जाने गरी सहमति जुटेको छ ।

माओवादीबाट यसअघि मधु अधिकारी गुरुङ स्वाथ्य तथा जनसंख्या मन्त्री बनिसकेकी छन् । जिल्लागत रूपमा बराल कास्की, चन्द्रबहादुर बागलुङ, दीपक स्याङ्जा र मधुमाया लमजुङकी हुन् । 

सत्तारुढ नेपाली कांग्रेससँग बिहीवार मन्त्रालय भागवण्डामा सहमति जुटेपछि माओवादी केन्द्रले आफ्नो तर्फबाट मन्त्री चयन गरेको छ । 

कांग्रेसले भने आफ्नो भागमा परेका मन्त्रीहरूको नाम टुंगाउन सकेको छैन । त्यसका लागि अन्तिम तयारी हुँदै गरेको जनाइएको छ । ५ मन्त्रालय पाउने कांग्रेसले मन्त्रीको नाम टुंग्याउन बिहीवार समेत बैठक बसेको थियो । 

कांग्रेसबाट मुख्यमन्त्री पोखरेलसहित सरकारका प्रवक्ता समेत रहेका कुमार खड्का शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री छन् । 

जनता समाजवादी पार्टी (जसपा) नेपालले २ मन्त्रालय पाउने छ । जसपाका हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन् । 

स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) युवा तथा खेलकुद मन्त्री छन् । उनी अघिल्लो सरकारसहित तेस्रो पटक युवा तथा खेलकुद मन्त्री बनेका हुन् । 

सबै दलबाट मन्त्रीहरूको टुंगा लागिसकेपछि शुक्रवार दिउँसो शपथ ग्रहण तयारीमा गण्डकी सरकार रहेको प्रवक्ता कुमार खड्काले जानकारी दिए । 

पृथ्वीसुब्बा नेतृत्वको सरकारले यसअघि ७ मन्त्रालय फुटाएर ११ मन्त्रालय बनाएको थियो । गण्डकीमा कूल ६० सांसदको २० प्रतिशत अर्थात् १२ मन्त्रालयसम्म बनाउन सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्