
नेपाल विद्युत् प्राधिकरणका विभिन्न वितरण केन्द्र तथा फ्युज शाखाबाट मनपरी ढंगले महशुल असुल गरिएको उपभोक्ताको गुनासो छ ।
घरेलु उपभोगको विद्युतमा पनि मनपरी रकम असुल भएको भन्दै उपभोक्ताले गुनासो गरेका हुन् ।
विद्युत् कार्यालयले २० प्रतिशतभन्दा धेरै जरिवाना असुल गरेको बुटवलका वासिन्दा तुलसी घिमिरेले गुनासो गरे ।
उनले निषेधाज्ञाको अवधिमा आफैंले मिटर रिडिङ गरेका थिए । उनलाई विद्युत्को कार्यालयको काउन्टरमा बसेकाले ‘तपाईंले टिपेर ल्याएको अंक हुँदैन, जरिवाना तिर्नुस्’ भनेर झपारेका थिए । विद्युत् प्राधिकरणबाट मिटर रिडिङ गर्न कोही पनि नआएपछि पुष्पजस्ता कतिपय उपभोक्ताले आफैं हरेक महिनाको उठेको युनिटको अंक टिपेर राखेका थिए ।
‘मेरो घरमा विद्युत् रिडिङ प्रत्येक महिनाको २६ गते हुने गर्छ । गत २०७८ साल वैशाख १६ गतेबाट लकडाउन र निषेधाज्ञा जारी भयो । तैपनि मैले वैशाख २६ गते मिटर रिडिङ गरें र कागजमा टिपें । विद्युत् अफिस खुलेन । पैसा तिरिएन । २०७८ जेठ २६ गते मैले पुनः मिटर रिडिङ गरें । जेठ २७ गते विद्युत्मा अफिस खुलेकाले वैशाख र जेठको पैसा तिरें तर विद्युत्ले शुल्क लिँदा मैले टिपेर लगेको रिडिङलाई मान्यता दिइएन । २०७७ चैत महिनामा गरेको मिटर रिडिङको आधारमा पैसा लिएको रहेछ,’ घिमिरेको गुनासो छ, ‘असारमा प्राधिकरणका कर्मचारीले आएर मिटर रिडिङ गर्दा अत्याधिक ५५७ युनिट विद्युत् खपतको रेकर्ड देखियो र मैले अत्यधिक ६ हजार रुपैयाँ शुल्क तिर्नुपर्यो । यस्तो घटना हाम्रो टोल छिमेकमा सबै उपभोक्ताकोमा भएको छ ।’
विद्युत्का कर्मचारीले उपभोक्तालाई ‘तपाईं आफैंले मिटर रिडिङ गरेर मोबाइलमार्फत पैसा तिर्न सक्नुहुन्छ’ भनेर बताए पनि मिटर रिडिङ गरेर पठाउँदा त्यो रिडिङ अभिलेखमा नराख्ने गरेको उपभोक्ताको गुनासो छ ।
२०७८ वैशाख, जेठ र असारको यथार्थ रिडिङलाई ३ महिनाको औसत मानेर काम गरेको भए यत्रो रकममा फरक नपर्ने उपभोक्ताको सुझाव छ । सैनामैना मुर्गियाकी हिमला गौतमले पनि आफूहरूले टिपेर लगेको अंकलाई विद्युत्का कर्मचारीले नमानेर जरिवाना लिएको गुनासो गरिन् ।
उनीसँगै विद्युत्को रकम बुझाउन गएकी अर्की उपभोक्ता जरिवाना तिर्ने पैसा नभएको भन्दै फर्केर आएको बताइन् । ‘मिटर रिडिङ गर्न नआउने, काउन्टरमा पुगेपछि जरिवाना असुल्ने काम भयो,’ गौतमले भनिन्, ‘नियमित मिटर रिडिङ गर्न पनि नआउने अनि अहिले अन्यायपूर्ण तरिकाले जरिवाना तिराउने काम भयो ।’
सैनामैनामा विद्युत्को फ्युज शाखा रहेको छ । शाखामा मात्रै करीब २४ हजार विद्युत्का उपभोक्ता रहेका छन् । शाखाका प्राविधिक नरेश टण्डनका अनुसार लकडाउन र निषेधाज्ञा दुवै समयमा मिटर रिडिङ भएको छैन । अहिले विद्युत्को काउन्टरमा भुक्तानी गर्न आउने सबैजसो उपभोक्ताबाट गुनासो आए पनि कार्यालय प्रमुखसमक्ष गुनासाहरू संकलन गरेर पठाइएको बताए ।
एकातिर छुट घोषणा, अर्कातिर जरिवाना !
विद्युत् उपभोक्तालाई महशुलमा मिनाहा र छुट दिने घोषणा गरिए पनि तिनैमध्येका उपभोक्तालाई जरिवाना लिइएको छ । घरायसी साना विद्युत् उपभोक्तामध्ये मासिक १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क, मासिक १५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत र मासिक २५० युनिटसम्म खपत गर्नेलाई १५ प्रतिशत छुट हुने घोषणा भएको थियो । प्राधिकरणले सर्भिस चार्ज मात्रै लिएको दाबी गरेको छ ।
कूल ४० लाख घरायसी ग्राहकमध्ये मासिक १० युनिटभन्दा कम विद्युत् खपत गर्ने ८ लाख रहेका छन् । घरायसीतर्फका बाँकी ३२ लाख ग्राहकले मासिक २५० युनिटसम्म मात्रै खपत गर्ने गरेको प्राधिकरणको तथ्यांक छ ।
उपभोक्ता अधिकार हनन् भएको गुनासो
कतिपय सचेत उपभोक्ताले यसलाई उपभोक्ताको हक र अधिकारविरुद्ध भएको लापरवाही भनेका छन् । उनीहरूले सरकार र उपभोक्ता हित संरक्षण मञ्चको पनि ध्यान जानुपर्ने बताएका छन् । उपभोक्ता तथा बुटवल देवीनगरका वासिन्दा शंकर ज्ञवालीले यस्तै स–साना जस्ता लाग्ने कैयन् विषयमा उपभोक्ताहरू मारमा पर्ने गरेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने बताए ।
केन्द्रकै निर्देशन हो, परिमार्जन हुने भए उतैबाट हुन्छ– वितरण केन्द्र
विद्युत् प्राधिकरण बुटवल वितरण केन्द्रले माथिकै निर्देशन र निर्णय भएको बताएको छ । असार मसान्तसम्म मात्रै छुट हुने व्यवस्था भएकाले त्यसपछि भुक्तानी गर्न आउनेलाई अनिवार्य जरिवाना लिइएको वितरण केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख सुरेश महतोले केन्द्रबाटै आएको निर्देशनअनुसार छुट र मिनाहाको व्यवस्था गरी मातहतमा निर्देशन भएको बताए । उनले असार ३० गतेसम्मका लागि सबैलाई छुट भए पनि त्यसपछिका दिनमा अनिवार्य जरिवाना लाग्ने गरी निर्देशन आएको बताए ।