दुबई, २७ जेठ - पार्लरमा काम गर्ने रहरले पाँच महिनाअघि बिदेसिएकी बुटवल मुर्गियाकी निरु परियार एयरपोर्टको सफाइ गर्ने काममा दुबई आएकी थिइन् । एयरपोर्टको शौचालयमा भेटिएकी हँसिली निरु नेपाली गीत गुनगुनाउँदै सफाइ गर्दै थिइन् । किन बिदेसिनुभएको भनी सोध्दा उनले भनिन् , “दुबई आई ब्युटीपार्लरमा काम गर्ने रहर पहिलेदेखि थियो । त्यसका लागि भिसा लागेन अनि अर्को कामका लागि एकपल्ट छिरेपछि पार्लरतिर जानुपर्ला भनेर आएँ । यो काम अलिअलि गाह्रो छ, पहिला यस्तो गरेको थिइनँ ।”

निरुमात्र होइन परिवार र बच्चाको उज्ज्वल भविष्यको सपना बोकेर छ वर्षअघि दुबई छिरेकी सङ्गीता पनि सुरुमा यहाँ काम सिक्दाका दुःख बिर्सन नसकिने रहेछ भन्छिन् । “बाध्यता सबैको उस्तै हो विदेश आउनुपर्ने । बच्चा र परिवारको यादले कति भक्कानो फुट्छ हामीलाई मात्र थाहा छ तर पनि काम गर्नैपर्छ । नत्र पेट पाल्न सकिन्न”, उनले भनिन्, गोरखापत्रमा खबर छ ।
हालैको भ्रमणका क्रममा भेटिएकी उनी शरीर पोल्ने, झमझमाउने, टाउको दुख्ने समस्या भए पनि परदेशको ठाउँमा आरामको कुनै गुञ्जायस नभएकाले दैनिक १२ घन्टा काममा खटिएकी थिइन् । “आराम गरे तलब आउँदैन घर फर्कौँ भने आएको वर्षदिन पुगेको छैन । बिदा पाइँदैन । ओभरटाइम पनि गर्नैप¥र्याे । धन्य यहाँ भित्रका अरू नेपाली दिदीबहिनीले सहयोग गर्छन्, ३६ वर्षीया सङ्गीताले बाध्यता सुनाइन् ।
अबुधाबी अन्तर्राष्ट्रिय एयरपोर्टमा सानोदेखि ठूलो पदमा रही काम गर्ने महिलाको सङ्ख्या झन्डै तीन सयको हाराहारीमा रहेको बताइन्छ । नाम नलेख्नू है भन्दै हेटौँडाका ३० वर्षीय एक नेपाली युवाले पुरुषको तुलनामा एयरपोर्टमा महिला कामदारको सङ्ख्या बढी रहेको बताए ।