
भक्तपुरका श्याम (नाम परिर्वतन) पेशाले निर्माण व्यवसायी हुन् । उपत्यका र आसपासका जिल्लामा सडक तथा भवन निर्माणको काम गर्दै आएका छन् ।
कोरोना भाइरसको संक्रमणसँगै उनले लिएका केही ठेक्कापट्टामा ब्रेक लाग्यो । काम गर्ने मानिसहरूको अभाव भयो । सामानको पनि भाउ बढ्यो । जिम्मा लिएको काम सक्नुपर्ने दायित्व उनमा थियो ।
सरकारी काम ठेक्का लिएपछि असार मसान्तअगाडि सम्पन्न नगरे भुक्तानी नपाइने भएकाले काम सकाउनका लागि सामान किन्न र कामदारलाई ज्याला दिन पैसा खाँचो पर्यो ।
उनले केही बैंक तथा सहकारीमा ठेक्का देखाएर पैसा लिन नखोजेका त होइनन्, तर त्यसको प्रक्रिया अलि लामो हुने भएकाले साथीभाइसँग सस्तो ब्याजदरमा पैसा लिने निर्णय गरे ।
उनले गाडी रिकन्डिसन व्यवसाय गर्दै आएका गणेश उप्रेतीसँग पैसा मागे । उप्रेतीले 'पैसा त छ, तर ब्याज अलि महंगो पर्छ' भने ।
३६ प्रतिशत ब्याज अर्थात् एक करोडको महिनामा ३ लाख तिर्ने शर्तमा पैसा लिए ।
उनले त्यसका लागि ३ लाखको चेक ब्याज बापत दिइसकेका थिए । त्यसपछि १ करोड रुपैयाँ पैसा लिए । एक महिना बितेपछि गणेश पैसा माग्न आए ।
उनले काम गरेको पैसा आउन १०/१५ दिन लाग्ने बताए । तर गणेशले भने त्यसपछि घण्टा र दिनको हिसाबले पैसाको ब्याज बढाउन थाले ।
यतिसम्म कि उनले लिएको १ करोडमा ३ करोड ब्याज जोडेर ४ करोड पुर्याइदिए । त्यति मात्र नभएर भिजिलान्ते (गुण्डाहरू) प्रयोग गरेर थर्काउन पनि थाले । त्यसपछि उनले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उजुरी दिए ।
उनीसँगै अरू पनि पीडित थिए । श्याम र अन्य २ जनाले एकै प्रकृतिको उजुरी सीआईबी दिएका थिए । अहिले उनीविरुद्ध उजुरी दिनेको संख्या पनि वृद्धि हुँदै गएको सीआईबीका निर्देशक डीआईजी धिरजप्रताप सिंहले बताए ।
निर्देशक सिंहका अनुसार उप्रेतीले विशेष गरी ठेकेदारहरूलाई पैसा दिने र उनीहरूबाट ४/५ गुणाभन्दा धेरै पैसा असुल्ने गरेको पाइएको छ ।
‘उसले ४ करोड दियो भने ११ करोडसम्म उठाउने गरेको देखिन्छ,’ निर्देशक सिंहले लोकान्तरसँग भने, ‘नदिएमा केटा (गुण्डा)हरू लगाएर ज्यान मार्ने धम्की समेत दिँदोरहेछ ।’
राजनीतिक व्यक्तिसँग साँठगाँठ
मिटरब्याजमा पैसा लगाउने गणेश उप्रेतीको व्यवसाय भने रिकन्डिसन सञ्चालन गरी पुराना गाडीहरू खरिद बिक्री गर्नु हो ।
उनले चाबहिल मित्रपार्कमा दृशान्त अटोमोबाइल्स प्रा.लि. सञ्चालन गर्दै आएका छन् ।
दोलखामा सामान्य परिवारमा हुर्केका उप्रेती काठमाडौंमा पहिला आउँदा ग्यारेजमा काम गर्दै मोटसाइकलको रिकन्डिसन सञ्चालन गरेका थिए ।
त्यसपछि उनले गाडीहरूको रिकन्डिसन स्वरूम सञ्चालन गर्दै आएका छन् ।
उनले रिकन्डिसनमा रहेका महंगा–महंगा गाडी राजनीतिक दल तथा तिनका भ्रातृ संगठनका नेतालाई पनि दिएको देखिएको सीआईबीले जनाएको छ ।
‘राजनीतिक व्यक्तिलाई प्रभावमा पार्नका लागि गाडीहरू दिने गरेको पनि देखिएको छ,’ सीआईबीका निर्देशक धिरजप्रताप सिंहले भने, ‘त्यसको पनि अनुसन्धान गर्दैछौं ।’
उनले तत्कालीन सत्तारुढ दल एमालेको भ्रातृ संगठन युवा संघका नेताहरूलाई गाडी दिएको पाइएको सीआईबीले जनाएको छ ।
दुईवटी श्रीमतीका नाममा जग्गा र घर
उनको काठमाडौं उपत्यका तथा दोलखामा महंगा ठाउँमा घरजग्गा जोडेका छन् ।
सीआईबीको प्रारम्भिक अनुसन्धानमा ललितपुरको भैँसेपाटीमा साढे ५ आनामा ३ तल्ले घर, भक्तपुरको गोठाटारमा ९ आना जग्गा, दुवाकोटमा ६ आना एक ठाउँमा र ४ आना अर्को ठाउँमा तथा दोलखाको चरिकोटमा भर्खरै किनेको एउटा जग्गा छ ।
गणेशले सीआइबीलाई दिएको बयानका आधारमा चरिकोटमा रहेको घर कान्छी श्रीमतीको नाममा छ भने दुवाकोटको एउटा जग्गा जेठी श्रीमतीको नाममा छ र अर्को आफ्नै नाममा छ ।
उनको बैंक खातामा कति पैसा छ ? सम्पत्तिहरू के कति छन् भन्ने विषयमा राष्ट्र बैंक र मालपोत कार्यालयलाई पत्र पठाएको त्यसको विवरण आएपछि मात्रै थाहा हुने सीआईबीले जनाएको छ ।
महिनामा १ करोडसम्म आम्दानी !
गणेश उप्रेतीले पैसा मिटरब्याजमा लगाएर मासिक १ करोडसम्म आम्दानी गर्ने गरेको पाइएको सीआईबीले जनाएको छ ।
‘उनले एक महिनामा करोडसम्म आम्दानी गर्दा रहेछन्,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले लोकान्तरसँग भने, ‘उनले मानिसहरूसँग ब्याजको स्याज र स्याजको प्याज गरेरै उठाउने गरेको जाहेरीकर्ताले भन्छन् ।’
सीआईबीले यति धेरै पैसा लगानी गर्ने र उठाउने काममा उनी मात्रै संलग्न छन् कि अन्य व्यक्ति पनि संलग्न छन् भन्ने खोजिरहेको छ ।
‘यति धेरै पैसाको कारोवार उनी एक्लै गर्न सक्ने देखिँदैन, अन्य व्यक्तिहरू पनि छन् कि भनेर खोजिरहेका छौं,’ निर्देशक धिरजप्रताप सिंहले भने ।
उनले जाहेरी दिएका व्यक्तिलाई पैसा मिटरब्याजमा दिएको सीआईबीसँग स्वीकारेका छन् ।
‘उनले पैसा दिएको स्वीकारेका छन्, तर आफू पनि मध्यस्तकर्ता भएको र केही कमिसन आफूले राखेर मिटरब्याजमा लगाउँदै आएको हामीलाई बताए,’ अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरसँग भने ।
सीआईबीले उनलाई साउन १ गते चाबहिल मित्रपार्कबाट पक्राउ गरेको थियो ।
काठमाडौं केटेश्वरका श्याम (नाम परिवर्तन), प्रकाश कार्की र हेमराज गुभाजुको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
उनले प्रकाश कार्कीबाट ४ करोड १६ लाखको चेक लिएको र हेमराज गुभाजुबाट ४ करोड १४ लाखको चेक लिएर पैसा फिर्ता नगरेको तथा पैसा माग्दा आपराधिक गिरोह लगाएर ज्यान मार्ने धम्की दिएको उजुरी परेको थियो ।
पक्राउ परेका गणेशको साथबाट १९ करोड ४३ लाख ६१ हजारको चेक बरामद गरेको थियो ।
सीआईबीका निर्देशक धिरजप्रताप सिंहका अनुसार उनलाई आपराधिक गतिविधि (एक्ट्रक्सन), ठगीमा म्याद थप गरेर मुद्दा चलाउने र सम्पत्ति शुद्धीकरणमा समेत उनको सम्पत्तिको विषयमा अनुसन्धान गर्न पठाउन लगेको बताए ।