काठमाडौँ, २७ जेठ - दोस्रो चरणको स्थानीय तह निर्वाचनमा दलको तर्फबाट उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न नयाँ दललाई निर्वाचन आयोगमा हस्ताक्षर बुझाउन बाटो खुलेको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रमाणीकरण गरेपछि हस्ताक्षर बुझाउने बाटो खुलेको हो ।

संशोधित विधेयकमा निर्वाचन प्रयोजनका लागि आधिकारिक दस्तखत पेस गर्न १५ दिनको सट्टा आयोगले तोकेको समय भन्ने उल्लेख छ । यसले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सहभागी नभएका र असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा सहभागी हुन चाहने दललाई सहजता भएको छ ।
विशेष गरी हालै एकीकरण भएको राष्ट्रिय जनता पार्टी (राजपा) लाई स्थानीय तह निर्वाचनमा भाग लिन यसले राहत दिएको छ । राजपाले उम्मेदवार मनोनयनका लागि यसअघि आधिकारिक हस्ताक्षर बुझाएको थिएन, गोरखापत्रमा खबर छ ।