
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले सडक र सदनमा रहेका कम्युनिष्ट पार्टीहरूका बीचमा कार्यगत एकताको प्रस्ताव गरेका छन् ।
४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वैद्यले संसद् बचाएर राख्ने कम्युनिष्ट पार्टीहरूको निर्णयमा आफूहरू सहमत हुन नसक्ने बताए ।
उनले भने, ‘संसद् बचाएर राख्ने निर्णय प्रति हामी सहमत हुन सक्दैनौं । यो संसदीय प्रणालीले देश विकास हुने अवस्था छैन ।’
नेपालमा धेरै कम्युनिष्ट पार्टी भएर विकास हुन नसकेको उनको धारणा छ । वैद्यले भने, ‘संसदवादी विचार भएका पार्टीहरू एउटै पार्टी बनाए हुन्छ । संसद्मा जाने सरकार बनाउने सबै पार्टीहरू मिले हुन्छ ।’
उनले भने, ‘क्रान्तिकारी धार भएका कम्युनिष्ट पार्टी पनि छन् । नयाँ जनवादी राज्य सत्ता बनाउने र आमूल क्रान्तिकारी परिवर्तन गराउने धार अहिले कमजोर छ । यिनीहरूको एउटै पार्टी बन्न सक्छ ।
सरकार र संसद् भएका कम्युनिष्टले सडकमा रहेका कम्युनिष्ट पार्टीलाई दमन गरेको उनले बताए । ‘केही अघि हामीलाई, त्यसपछि विप्लवजीहरूलाई एमाले र माओवादीले दमन गर्यो । यसअघिको डबल कम्युनिष्ट पार्टीले सडकमा रहेका कम्युनिष्ट पार्टीलाई दमन गर्यो । आज म एउटा प्रस्ताव राख्छु, अब दमन होइन, कार्यगत एकता गरौं । तपाईंहरू संसदबाट प्रयास गर्नुहोस् । हामी सडकबाट प्रयास गर्छौं । आगामी बाटो यही हो ।’
माधव नेपाल र प्रचण्डतर्फ संकेत गर्दै उनले भने, ‘अब तपाईंहरू कतिपटक प्रधानमन्त्री बन्नुहुन्छ । आउनुहोस् देश र समाजको परिवर्तनमा काम गरौं ।’