
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिले आह्वान गरेपछि बहुमत सांसदको हस्ताक्षर लिएर गएको बताएका छन् ।
उनले संविधानको धारा ७६(५) अनुसार आफूलाई समर्थन गर्न आग्रह गरिएको बताए ।
शुक्रवार प्रतिनिधि सभामा सांसदहरूले बधाई दिएपछि धन्यवाद दिने क्रममा देउवाले आफूहरूले सांसदलाई ह्वीप नलगाएको दाबी गरेका हुन् ।
‘पूर्वसभामुखज्यूले अब कहिल्यै पनि संसद् भंग हुने छैन भन्नु भएको थियो । राष्ट्रपति स्वयंले धारा ७६ (५) अनुसार सांसदले बहुमत पु¥याउन आह्वान गरेको हो । आह्वान गरेअनुसार बहुमत सदस्यको सनाखत लिएर गएको हो,’ देउवाले संसदमा भने, ‘संविधानमा त्यो किन लेखिएको थियो भन्ने कुरा पूर्व सभामुखज्यूलाई थाहा छ । हामीले अनिवार्य भनेको होइन, एमालेकै साथीहरूलाई अनुरोध गरेका हौं, संविधानअनुसार अनुरोध गर्न पाइन्न भन्ने कहाँको नियम हो ?’
त्यसअघि एमालेको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङले देउवालाई बधाई दिने क्रममा आफ्नो दलका सांसदलाई ह्वीप लगाउने तर, अर्को दलका सांसदलाई ह्वीप नलाग्ने कस्तो व्यवस्था हो भनेर प्रश्न गरेका थिए ।
देउवाले गठबन्धनले गरेका वाचा पूरा गरेर छाड्ने बताए । ‘संसद्को कार्यकाल पूरा गरेर देखिने किसिमका केही काम गर्न चाहन्छौं,’ देउवाले भने ।